काठमाडौं । सशस्त्र प्रहरी बल, बडादशैं, तिहार र छठको अवसर पारेर निः शुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।
बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूको परिवारजनलाई लक्षित गरी निःशुल्क रूपमा २ वटा बस सेवा सञ्चालन गर्ने सशस्त्र प्रहरीले जनाएको छ ।
चाडपर्वको बेला घर बिदा जाने सशस्त्र प्रहरी कर्मचारीहरूको आवतजावतमा यातायात सहजताको लागि भन्दै सशस्त्रले गत वर्षदेखि निः शुल्क बस सेवा सञ्चालन गर्दै आएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट छुट्ने एउटा बसले काठमाडौं, नारायणगढ, बुटवल, भालुवाङ हुँदै कञ्चनपुरको गड्डाचौकीसम्म सेवा प्रदान गर्ने छ, भने अर्को बसले नारायणगढ, बर्दिबास, सप्तरी, पकली हुँदै झापाको काँकडभिट्टासम्म सेवा प्रदान गर्ने सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले बताए ।
बडादशैंको अवसरमा काँकडभिट्टाको लागि दिउँसो २ बजे र गड्डाचौकीको लागि बिहान १० बजे मुख्यालयबाट छुट्ने दुई वटा बसले असोज २४ गतेदेखि कार्तिक १२ गतेसम्म सेवा प्रदान गर्नेछ ।
त्यस्तै तिहार र छठ पर्वको अवसरमा सञ्चालन हुने बस समेत कार्तिक २४ गतेदेखि मंसिर ४ गतेसम्म सोही समयमा मुख्यालयबाट छुट्ने वरिष्ठ उपरीक्षक खड्काले जानकारी दिए ।
चाडपर्वको बेला सशस्त्र प्रहरी बल नेपालका अन्य पायक पर्ने इकाईहरूमा समेत बस सञ्चालनको लागि समन्वय अधिकृतको व्यवस्था गरेको छ ।
यसभन्दा पहिला सशस्त्र प्रहरी बल, नेपालले बडादशैंको अवसरमा सर्वसाधारण यात्रुहरूको सुविधालाई ध्यानमा राखी काठमाडौं उपत्यका भित्र निःशुल्क बस सेवा समेत प्रदान गर्दै आएको थियो ।

Leave a Reply