काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एउटा बलियो र सार्वभौम राज्यका लागि भूगोल, जनता, राज्यको अग्रगामी चरित्र, जनउत्तरदायी राज्ययन्त्र, स्वाधीन अर्थतन्त्र, बलियो सरकार लगायतका आधारभूत पक्षहरू आवश्यक पर्ने बताएका छन् ।
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानको सि.सं. १५ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै विकास र समृद्धिको राष्ट्रिय आकांक्षा परिपूर्ति गर्दै अग्रगामी दिशामा अगाडि बढ्न आवश्यक भएको बताए ।
उनले भने, ‘बलियो सुरक्षा अंग र प्रभावकारी सुरक्षा बिना देशमा विकास र समृद्धिको वातावरण एवं मनोविज्ञान निर्माण गर्न सम्भव हुँदैन । तसर्थ, अब तपाईहरूको ध्यान नेपालको संविधान, प्रचलित कानुनको अधीनमा रही सरकारको निर्देशनबमोजिम जनसेवा र सुरक्षामा केन्द्रित हुने नै छ ।’
सशस्त्र प्रहरी बलले सम्पादन गर्ने कार्य र जिम्मेवारीलाई थप विशिष्टिकृत र प्रभावकारी तुल्याउन सुरक्षाकर्मीको क्षमता अभिवृद्धि, साधनस्रोतको उपलब्धता, सुदृढ संगठन प्रणाली र व्यवस्थापन महत्वपूर्ण पक्ष भएको बताए ।
संगठनलाई राज्यले विशिष्ट, महत्वपूर्ण र विशेष कार्यहरू सुम्पिएको भन्दै राज्यद्वारा प्राप्त जिम्मेवारी कुशलतापूर्वक पूरा गर्न संगठनले जनशक्तिको नेतृत्व क्षमतामा विशेष ध्यान दिन आवश्यक निर्देशन गरे ।
संगठनले नियमित कार्यसम्पादनका साथै विकसित नयाँ चुनौतीहरूतर्फ ध्यान केन्द्रित हुनुपर्ने बताए ।
उनले आज दीक्षित भई कार्यक्षेत्र जान लागेका अधिकृतहरूलाई आग्रह गर्दैै भने, ‘तपाईहरूका लागि राज्यले ठूलो लगानी गरेको छ, निकै ठूलो भरोसा गरेको छ, लगानीअनुरूपको नतिजाको अपेक्षा पनि गरेको छ । कुनै पनि प्रकारको डरत्रास, लोभ, प्रलोभन वा गैरव्यवसायिक क्रियाकलाप वा प्रभावमा नपरी तालीममा प्राप्त गरेको सैद्धान्तिक र व्यवहारिक ज्ञान कार्यक्षेत्रमा प्रयोग गर्न आग्रह गर्दै अनुकरणीय अधिकृतका रूपमा आफूलाई स्थापित गर्नुहुनेछ भन्ने अपेक्षा र निर्देशन समेत गर्दछु ।

Leave a Reply