आजबाट मौसम सुधार हुने, मौसमविद् भन्छन्- लगातार झरी हुन्न

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसम क्रमिक रूपमा सुधार हुँदै जाने जानकारी गराएको छ ।

विभागका मौसमविद् गोविन्द झाका अनुसार नेपालको पूर्वी क्षेत्रमा केही बदली बाँकी नै रहने र अन्य क्षेत्रबाट क्रमिक सुधार हुँदै जानेछ ।

‘तर पनि हिजो र अस्तिको जस्तो लगातार झरी हुन्न, केही समय पानी पर्ने र केही समय घाम पनि लाग्ने हुन्छ, पूर्वमा मात्रै अलिकति बाँकी छ, अब भोलिदेखि भारी वर्षा भने हुन्न’, उनले भने ।

विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ । साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

वर्षाका कारण त्यस क्षेत्रबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधाका साथै चट्याङको जोखिमबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *