सहन्यायाधिवक्ता पराजुली सचिवमा बढुवा, स्वास्थ्यमा १७२ अस्थायी दरबन्दी स्वीकृत

काठमाडौं । सरकारले सहन्यायाधिवक्ता लोकराज पराजुलीलाई राजपत्रांकित विशिष्ट श्रेणी अर्थात सचिवसरहको पदमा बढुवा गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल न्याय सेवा, सरकारी वकिल समूह, राजपत्रांकित प्रथम श्रेणीका सहन्यायाधिवक्ता पराजुलीलाई सोही सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

सचिवमा बढुवा भएसँगै पराजुलीलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदस्थापन गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नियमित पत्रकार सम्मेलनमा जानकारी गराइन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव श्यामकुमार भट्टराई न्यायाधीशमा सिफारिस भएपछि उक्त पद रिक्त थियो ।

मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गतमा अधिकृतस्तरका १७२ अस्थायी दरबन्दी स्वीकृत गर्ने, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत कार्यक्रमका लागि अधिकृतस्तरका ६ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

जिल्ला समन्वय समितिको कार्यालयको संगठन संरचना र दरबन्दी तेरिज संशोधन गर्ने तथा राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि, २०६८ खारेज गर्ने निर्णय पनि भएको सञ्चारमन्त्री शर्माले जानकारी दिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *