रूपन्देही । बुटवलको कालिकानगरस्थित सिद्धार्थ राजमार्गमा पृथ्वीनारायण शाहको सालिक स्थापना गरिएको छ । राजमार्गको बुटवल-बेलहिया सडक खण्डअन्तर्गत बुटवल उपमहानगरपालिका-१० कालिकानगरमा शाहको पूर्ण कदको सालिक राखिएको हो ।
कालिका मानविज्ञान माध्यमिक विद्यालयको मुख्य प्रवेशद्वारभन्दा केही उत्तरतर्फको सडक किनारको हरियाली क्षेत्रमा राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको महत्त्वपूर्ण योगदान रहेकोले सालिक राखिएको स्थानीयले बताएका छन् ।
ढलोटबाट निर्माण गरिएको शाहको पूर्णकदको उक्त सालिक ७ फुटको छ । केही ठाउँमा राजाका शालिक हटाइरहेका बेला यहाँ पृथ्वीनारायण शाहको सालिक निर्माण गरिएकोमा प्रशंसासँगै इतिहासप्रति संरक्षण भन्दै चर्चासमेत भइरहेको छ ।
गत वर्ष पुस २७ गते वडाध्यक्ष वलु पुनले शिलान्यास गरेको सालिक निर्माणमा उपमहानगर र वडा कार्यालयले बजेट जुटाएको निर्माणको अगुवाइ गरेका केशरबहादुर विष्ट नेतृत्वको राष्ट्रिय शक्ति नेपालका नेतासमेत रहेका रुपसिंह थापाले बताए ।
बुटवल १० का स्थानीय निलम अधिकारीले आफ्नो पहलमा सालिक निर्माण थालिएको भन्दै इतिहासलाई संरक्षण गर्ने पात्रको विषयमा जानकारी दिने उद्देश्यले अध्ययन केन्द्र बनाउने बताउने । राजतन्त्रविरोधी आन्दोलनमा यस क्षेत्रमा भएका राजाका पुराना सालिक हटाएर नेताका सालिक राखिएको छ । राजमार्ग विस्तार गर्दा ती सालिक पनि अस्तव्यस्त छन् ।
बुटवलको गोलपार्कमा त्रिभुवन, महेन्द्रपार्कमा महेन्द्र, चाराहमा वीरेन्द्रको सालिक थियो । ती शालिक भत्काएर त्यहाँ कांग्रेस कम्युनिष्ट नेताको सालिक स्थापना गरिएको छ । कानून र इतिहासका अध्यापक युवराज कंडेलले एकछिनको आवेगमा सालिक भत्काएर कसैको इतिहास मेट्न नहुने बताउँछन् ।
‘बनाइएका सालिकले त्यो क्षेत्रमा पहिचान बनाइसकेका थिए, त्यो फालेर के क्रान्ति भयो ? भौतिक वस्तुले इतिहास संरक्षण गर्ने हो, नयाँ बनाउनेले नयाँ ठाउँमा खोजेको भए हुने थियो, विश्वका धेरै देशमा इतिहास संरक्षणमा यस्ता पुराना सालिक देख्न पाइन्छ, तर यहाँ भावना र उत्तेजनाको राजनीति बढी भयो’, उनको टिप्पणी छ ।

Leave a Reply