पर्यटन दिवसमा लुम्बिनीमा यसरी गरियो पर्यटकलाई स्वागत

रुपन्देही । ४४ औँ विश्व पर्यटन दिवसका अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा बुधवार बिहान पर्यटकलाई स्वागत गरिएको छ ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले चीन र फ्रान्सबाट आएका पर्यटकलाई मायादेवी प्रवेश द्वारमा स्वागत गरेका हुन् ।

पर्यटकलाई स्वागत गर्दै उपाध्यक्ष डा. लामाले लुम्बिनी विश्व शान्तिको केन्द्र भएको बताउँदै यहाँको भ्रमणका लागि विश्व समुदायलाई आह्वान गरे ।

उनले विश्व पर्यटन दिवसको अवसर विश्वले बुद्धजन्मस्थल लुम्बिनीलाई बौद्धिष्टहरूको भ्रमण केन्द्रको शुरूवात बनाउन आग्रह गरे । लुम्बिनी विकास कोष र लुम्बिनी होटल संघ नेपालले संयुक्त रूपमा पर्यटकलाई स्वागत गरेर दिवस मनाएका हुन् ।

उक्त अवसरमा लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, वरिष्ठ निर्देशक ज्ञानिन राई, लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवाली, कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई लगायतले पर्यटकलाई खादा र उपहार दिएर स्वागत गरेका थिए ।

सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउँदै आइएको हो ।

कोरोना महामारीले थला परेको लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटक पछिल्लो वर्ष बढ्दै गएको सूचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राईले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *