डाक्टर बोलाउने बहानामा प्रेम चलाउनेको मुद्दाको फैसला धकेलियो, अदालतमा कांग्रेस पसेको आरोप

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक प्रेम चलाउनेमाथि आक्रमणको मुद्दामा फेरि अर्को रोकावट आएको छ । अन्तिम सुनवाइ सुरु भइसकेपछि न्यायधीशले डाक्टर बोलाउने आदेश दिएर फैसलालाई धकेलिदिएका छन् ।

जिल्ला अदालतका न्यायाधीश उत्तम सिलवालको इजलासमा हिजो फैसला सुनवाइ अघि बढेको थियो । हिजो बहस नसकिएपछि न्यायाधीशले मुद्दालाई हेर्दाहेर्दैमा राखे । आज बिहान ११ बजे फेरि बहस सुचारु गरे ।

प्रतिवादीतर्फका वकिलहरुले तीनजना वकिलहरु दयानाथ खरेल, शेरबहादुर केसी र योगेन्द्रबहादुर अधिकारीले आज बहस गरेका थिए । सुरुमा उनीहरुले भ्याकेटको निवेदन परेकाले सुनवाइ नै हुन नसक्ने तर्क गरे । त्यसपछि चलाउनेको उपचारमा संलग्न डाक्टरको बकपत्र नभएको भन्दै बखेडा झिके ।

प्रतिवादीका वकिलको बहस सुनेपछि न्यायाधीसले चलाउनेको उपचार गर्ने डाक्टरलाई अदालत भौतिकरुमै उपस्थित गराउने आदेश गर्दै सुनवाइ स्थगित गरिदिएका छन् । डाक्टरको बयान उल्ट्याउने चेष्टासहित कांग्रेसको डिजाइनमा आज सुनवाइ स्थगित गरिएको दावी वादी पक्षका वकिलहरुको छ । कांग्रेस उपसभापति तथा कानूनमन्त्री धनराज गुरुङले नै मुद्दामा चलखेल गरिरहेको उनीहरुले आरोप लगाएका छन् ।

त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि २०७७ साल असोज २० गते सांघातिक आक्रमण भएको थियो । सख्त घाइते अवस्थामा उनलाई मेडिसिटी अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । इमर्जेन्सीका चिकित्सक डा. सनित सिंहले सामान्य उपचार गरेर विशेषज्ञ डाक्टरकोमा पठाइदिए । अर्थोपेडिक डिपार्टमेन्टका डा. शिशिर लाखे नेतृत्वमा पाँच डाक्टरको टिमले उनको मेकअप फ्यूमर (कम्मरमुनिको हड्डी) को पहिलो शल्यक्रिया गरेको थियो ।

चलाउनेले दोस्रो शल्यक्रिया भने टिचिङ अस्पतालमा गरेका थिए । सो अस्पतालका डाक्टरले त्यसबेलै अदालतमा उपस्थित भएर बकपत्र दिएका हुन् । मेडीसिटी अस्पतालका डाक्टर लाखेले पनि चारवटा रिपोर्ट अदालतलाई दिइसकेका छन् । उनी आफैं उपस्थित भने भएका थिएनन् । अहिले फैसला टार्न न्यायाधीसले यसैलाई बहाना बनाएका हुन् । उनले चलाउनेको पहिलो शल्यक्रिया गर्ने डाक्टर लाखे र इमर्जेन्सीमा हेर्ने डाक्टर सिंहलाई उपस्थित गराउन आदेश दिएका छन् ।

अघि बढिसकेको फैसला सुनवाइ रद्द भएको यो तेस्रोचोटि हो । अब कहिले पेशी तोकिन्छ भन्ने टुंगो छैन । फेरि अर्को न्यायधीसको इजलासमा पर्न सक्ने भएकाले शून्यबाटै बहस सुरु गर्नुपर्ने हुन्छ । हिजो र आज घन्टौं भएको सुनवाइको कुनै अर्थ भएन ।

चलाउनले आफ्नो उपचारमा करिब १८ लाख रुपैयाँ खर्च गरिसकेका छन् । त्यसमध्ये ३ लाख रुपैयाँ त्रिभुवन विश्वविद्यालयले उपलब्ध गराएको हो भने बाँकी आफ्नै निजी खर्चबाट उपचार गराइरहेका छन् । डाक्टरहरुले उनको तेस्रो शल्यक्रिया पनि गर्नुपर्ने बताएका छन् जसका लागि १० लाख रुपैयाँभन्दा बढी लाग्छ ।

आफूमाथि आक्रामण भएको केही दिनमा नै चलाउनेले ७ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । प्रतिवादीमध्ये ३ जना हरि आचार्य, योगेन्द्र रावल र दीपक ओझा नेविसंघका नेता हुन् । बाँकी ४ जना (रुपेश साह, रविनकुमार लावा निरज रानामगर र सरिन श्रेष्ठ पेशेवर गुण्डा हुन् । सर्वोच्च अदालतले गत ९ साउनमा यो मुद्दालाई यथासीघ्र टुंगो लगाउन जिल्ला अदालतलाई आदेश गरेको थियो । तर, जिल्ला अदालतको कार्यशैली ठीक उल्टो छ ।

 

Comments

2 responses to “डाक्टर बोलाउने बहानामा प्रेम चलाउनेको मुद्दाको फैसला धकेलियो, अदालतमा कांग्रेस पसेको आरोप”

  1. ksp pyl Avatar
    ksp pyl

    काँग्रेस माओवादी भनेका अपराधी हुन् । मान्छे मार्नेलाई भटाभट् जेलबाट छुटाउनेले चलाउनेलाई पिटनेलाई सजाय गराउँछ त ? अनि नेपालको अदालत भनेको सबैभन्दा भ्रष्ट, दलालहरूले भरिएको विवेकहिनहरूको कार्यस्थल हो । त्यो बिकाउ छ र पैसाकोदलागि जे पनि गर्छ ।

  2. दिपेन्द्र ढुङ्गाना Avatar
    दिपेन्द्र ढुङ्गाना

    नेपाली कांग्रेसको सरकार नेपाली कांग्रेसका गुण्डाहरुको रक्षाको लागि सिंगो पाटी नै संलग्न भएर बचाउने चेष्टा गर्नु कांग्रेसीहरुको मुल धर्म भएको अवस्थामा हो ।काँग्रेस पाटी भनेको अपराधीहरुको जत्था हो। चाहे रिगल बचाउन होस या शिक्षकहरुलाई पिट्ने कालो मोसो दल्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *