मलंगवाको कर्फ्यू समय घटाइयो

जनकपुरधाम । सर्लाहीको मलंगवा नगरपालिकामा मूर्ति सेलाउने क्रममा दुई समुदायबीच भएको झडपछि प्रशासनले लगाएको कर्फ्यूको समय चार दिनपछि छोट्याइएको छ ।

प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवको अगुवाइमा आज बसेको समन्वय सहजीकरण बैठकले मलंगवा नगर क्षेत्रमा लगाएको कर्फ्यूको समय घटाएको हो । आज राति ८ बजेदेखि विहान ४ बजेसम्म कर्फ्यू रहनेछ ।

अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्मका लागि राति ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको सीडीओ यादवले जानकारी दिए । यो आदेशसँगै आजदेखि दिनमा कर्फ्यू हटेको छ ।

दिनको समयमा कर्फ्यू आदेश निष्कृय गरिएको भएतापनि सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमको मध्यनजर गर्दै साविक मलंगवा नगरक्षेत्र भित्र कुनै प्रकारको भेला हुन, जुलुस गर्न, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न निषेध गरिएको छ ।

सामाजिक सञ्जालमा सामाजिक सद्भाव बिगार्ने खालका हल्ला एवम् अफवाह फैलाउने व्यक्तिहरुको पहिचान गरी साइवर अपराध गरेको अभियोगमा कानूनबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।

असोज ४ गते साँझ मूर्ति सेलाउने क्रममा झडप भएको थियो । झडपका बेला एक युवकमाथि छुरा प्रहार गरिएको थियो । तोडफोड र ढुंगामुढा भएपछि प्रहरीले समेत स्थिति नियन्त्रणमा लिन नसक्ने अवस्था देखेर प्रशासनले राति सोही दिन राति १० बजेबाट अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *