कोशीमा मध्यावधि भए तेब्बर सीट जित्ने माधवको दाबी, मतसँग छैन तालमेल (सूचीसहित)

काठमाडौं । निर्वाचन भएको एक वर्ष पुग्न लाग्दासमेत कोशी प्रदेशले अझै स्थिर सरकार पाउन सकेको छैन । अहिले बनेको एमाले नेतृत्वको हिक्मत कार्की नेतृत्वको सरकार पनि कति दिनको हो भन्ने टुंगो छैन ।

सरकार गठन गर्न स्पष्ट बहुमत कसैले जुटाउन नसकेपछि कोशी मध्यावधितर्फ अग्रसर छ । एमाले नेतृत्वको सरकार ढलेपछि गठबन्धनतर्फबाट कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बने पनि उनले बहुमत सिद्ध गर्नै नसक्दा दुई पटक सर्वोच्च अदालतबाट पदमुक्त भइसकेका छन् ।

गठबन्धनले सरकार बहुमतमा रहेको सिद्ध गर्न दुई पटक असंवैधानिक कदम चालेपछि सर्वोच्चको परमादेशबाट अहिले एमाले संसदीय दलका नेता कार्की पुनः मुख्यमन्त्री बनेका छन् । उनी कोशी प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा मुख्यमन्त्री बनेका हुन् । संविधानको धारा १६८ (३) अनुसार कार्की मुख्यमन्त्री बनेका छन् । उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर, उनले विश्वासको मत पाउने सम्भावना क्षीण छ।

सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले विश्वासको मत नदिएसम्म कार्की नेतृत्वको सरकार अगाडि बढ्न सक्दैन । उनीहरु एक महिनापछि आफ्नै नेतृत्वको सरकार गठनको दाउपेचमा लागिरहेका छन् ।

थापा र कार्की पालैपालो मुख्यमन्त्री बने पनि दुवैले बहुमत जुटाउन सकेका छैनन् । अब कार्की नेतृत्वको सरकार ढलेपछि सहमतीय सरकार बन्ने परिस्थिति नभए कोशी स्वतः मध्यावधिमा जान्छ । त्यही कुराको संकेत गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोशीमा आफूहरु निर्वाचनमा जान तयार रहेको बताए ।

शनिबार एकीकृत ट्रेड युनियन महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोशीमा निर्वाचनमा जाँदा आफ्नो पार्टीले अहिलेको भन्दा तेब्बर सीट जित्ने दाबी गर्न भ्याए ।

उनले भनेका थिए, ‘अब विकल्प कि मिलेर जानु कि अरूलाई साथ दिनु कि त चुनावमा जानु हो । हामीलाई त फरक पर्नेवाला छैन । किनभने हाम्रा साथीहरूको हिसाब के छ भने चुनाव भयो भने पनि हाम्रो पार्टीलाई फाइदै हुन्छ । अहिले हामीसँग त्यहाँ चार सीट छ । त्यो सीट संख्या बढेर हामीले दोब्बर तेब्बर ल्याउन सक्छौं भन्ने विश्वासमा छौं । अरू पार्टीहरूको सातो गएको छ ।’

अध्यक्ष नेपालले कोशीमा अहिले ४० सीट रहेको एमालेतर्फ लक्षित गर्दै अब निर्वाचन भए २० सीटमा घट्ने विश्लेषणसमेत सुनाए ।

९३ सदस्यीय प्रदेशसभामा यहाँ सत्ता गठबन्धनमा कांग्रेस २९, माओवादी केन्द्र १३, एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन् । सत्ता गठबन्धनसँग सरकार बनाउन आवश्यक सांसद संख्या भए पनि एमाले-राप्रपाले सभाको अध्यक्षता नगरेपछि संकट हुँदै आएको छ ।

यहाँ एमालेको ४० र राप्रपाको ६ गरी विपक्षी गठबन्धनमा ४६ सांसद छन् । त्यसैले अहिले बनेको एमाले नेतृत्वको सरकार पनि टिक्ने अवस्थामा छैन ।

तर, नेकपा एसका अध्यक्ष नेपालले कोशीमा निर्वाचन भए आफूहरुलाई फाइदैफाइदा हुने दाबी गरे । अध्यक्ष नेपालले दाबी गरेझैं कोशी प्रदेशका १४ जिल्लाको गत निर्वाचनको प्रतिनिधिसभातर्फको समानुपातिक मतको तथ्यांकले त्यो सम्भावना देखाउँदैन ।

गत मंसिरमा सम्पन्न निर्वाचनमा ताप्लेजुङ नेकपा एस चौथो पार्टी हो । त्यहाँ एमालेले १९ हजार ६०४, नेपाली कांग्रेसले १५ हजार ७३५, माओवादी केन्द्रले ५ हजार १६२ मत ल्याउँदा नेकपा एसले १ हजार ५४५ मतमात्रै पाएको थियो ।

पाँचथरमा एमालेले २६ हजार ५९२, नेपाली कांग्रेसले १९ हजार ४४, माओवादी केन्द्रले १२ हजार १६९ मत पाउँदा ३ हजार ३८७ मत ल्याएर नेकपा एस चौथो बनेको थियो ।

इलाममा पनि एमालेले ४७ हजार १२६, नेपाली कांग्रेसले ३८ हजार ७८३, राष्ट्रिय स्वतन्त्र पार्टीले ९ हजार १३७ मत ल्याउँदा नेकपा एसले ८ हजार ६०७ मत ल्याएको थियो । अन्य जिल्लाको तुलनामा यहाँ केही धेरै मत ल्याएको छ । इलाम नेकपा एसका सम्मानित नेता झलनाथ खनालको गृहजिल्ला हो ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा भने नेकपा एस १०औं नम्बरमा छ । यहाँ एमाले १ लाख २७ हजार ७८०, कांग्रेसले १ लाख ६८६, राष्ट्रिय स्वतन्त्र पार्टीले ७७ हजार ४४४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४६ हजार ४६६, माओवादी केन्द्रले ३१ हजार ६६६ मत ल्याउँदा नेकपा एस मंगोल नेशनल अर्गनाइजेशन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनमत पार्टी, हाम्रो नेपाली पार्टीभन्दा पनि कमजोर देखिएको थियो । यहाँ नेकपा एसले २ हजार ९०३ मतमात्रै पाएको थियो ।

संखुवासभामा पनि नेकपा एस चौथो स्थानमा छ । एमालेले २५ हजार १३८ मत ल्याएर पहिलो पार्टी बन्दा कांग्रेसले २२ हजार २६, माओवादीले ७ हजार ५२ र नेकपा एसले २ हजार ५४८ मत पाए ।

अन्य जिल्लामा नेकपा एसको अवस्था (प्रतिनिधिसभाको समानुपातिक मतसहित)

तेह्रथुम

एमाले – १७,२५८
नेपाली कांग्रेस – १४,६०६
माओवादी केन्द्र – ३,०६६
राष्ट्रिय स्वतन्त्र पार्टी – २,१८८
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च – १,०७९
राष्ट्रिय प्रजातन्त्र पार्टी – ७८२
नेकपा एस – ५८९

भोजपुर

एमाले – २२,९४०
नेपाली कांग्रेस – १४,७७६
माओवादी केन्द्र – १२,७५०
नेकपा एस – ३,६९३

धनकुटा

एमाले – २९,४०७
नेपाली कांग्रेस – १८,१३५
माओवादी केन्द्र – ४,८३८
जनता समाजवादी पार्टी, नेपाल – ४,१८२
राष्ट्रिय स्वतन्त्र पार्टी – ३,९७९
नेकपा एस – २,४४९

मोरङ

नेपाली कांग्रेस – १,३८,१६३
एमाले – १,२३,४८७
राष्ट्रिय स्वतन्त्र पार्टी – ५३,१८६
माओवादी केन्द्र – ४३,७९४
राष्ट्रिय प्रजातन्त्र पार्टी – ४०,८२२
जनता समाजवादी पार्टी, नेपाल – १७,२०७
नेकपा एस – ८,५६१

सुनसरी

एमाले – ९९,७४२
नेपाली कांग्रेस – ९०,१३८
राष्ट्रिय स्वतन्त्र पार्टी – ४६,११२
राष्ट्रिय प्रजातन्त्र पार्टी – २६,३०३
माओवादी केन्द्र – १६,६९७
जनता समाजवादी पार्टी, नेपाल – १५,२५६
जनमत पार्टी – ६,७२६
नागरिक उन्मुक्ति पार्टी – ५,२२९
नेकपा एस – ४,१४६

सोलुखुम्बु

एमाले – १५,७०५
नेपाली कांग्रेस – १०,४७३
माओवादी केन्द्र – ८,५२४
राष्ट्रिय स्वतन्त्र पार्टी – १,१३५
जनता समाजवादी पार्टी, नेपाल – ९५८
राष्ट्रिय प्रजातन्त्र पार्टी – ४७६
नेकपा (माले) – २१८
नेकपा एस – १६२

खोटाङ

एमाले – २४,२७१
नेपाली कांग्रेस – १८,६७२
माओवादी केन्द्र – ११,८४५
नेकपा एस – ३,३६३

ओखलढुंगा

एमाले – २५,२४५
नेपाली कांग्रेस – २३,९९९
माओवादी केन्द्र – ७,१७२
राष्ट्रिय स्वतन्त्र पार्टी – २,४१८
जनता समाजवादी पार्टी, नेपाल – १,४५०
राष्ट्रिय प्रजातन्त्र पार्टी – ५६८
नेकपा एस – ४३०

उदयपुर

एमाले – ३७,७३९
नेपाली कांग्रेस – २९,९९१
माओवादी केन्द्र – १७,१४५
राष्ट्रिय स्वतन्त्र पार्टी – ११,१४३
राष्ट्रिय प्रजातन्त्र पार्टी – ५,२९१
नेकपा एस – ३,८६३

नेकपा एसले प्रदेशसभातर्फ पाएको मत (जिल्लागत)

ताप्लेजुङ – १,५५६
पाँचथर – २,९२९
इलाम – ९,६२७
झापा – ३,९४४
संखुवासभा – २,६३३
तेह्रथुम – १,९०२
भोजपुर – ३,००९
धनकुटा – २,१९७
मोरङ – १०,३३४
सुनसरी – ६,६६५
सोलुखुम्बु – २४७
खोटाङ – ३,८७८
ओखलढुंगा – २,७२४
उदयपुर – २,७२४

कोशीमा नेकपा एसले २०७९ मंसिरमा भएको निर्वाचनमा पाएको मत विवरण

Comments

One response to “कोशीमा मध्यावधि भए तेब्बर सीट जित्ने माधवको दाबी, मतसँग छैन तालमेल (सूचीसहित)”

  1. सुरेन्द्र Avatar
    सुरेन्द्र

    त्यति जित्ने भए चुनाव लड्न आफै गए भैहाल्यो नि यता प्रधानमन्त्रीमा पालो नआउने भैसको उता गएर मुख्य मन्त्री बन्नु

Leave a Reply

Your email address will not be published. Required fields are marked *