काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूतपूर्व गोर्खा सैनिकहरूको हित, समान अधिकार र विश्वभरि रहेका नेपालीहरूको हित रक्षाका निम्ति आफू जीवनपर्यन्त लडिरहने बताएका छन् ।
भूतपूर्व गोरखा सैनिकहरूको कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले ब्रिटिश सेनामा भर्ती भएकाहरूमध्ये गोर्खालीहरूको तलब, सेवा सुविधा, पेन्सनलगायतका विषयमा भइरहेका विभेद अन्त्य गर्न पहल गर्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘भूतपूर्व गोरखा सैनिकहरूको समस्या राष्ट्रियस्तरबाट मात्र समाधान गर्ने मुद्दा नभएर दुईदेशीय एवं बहुपक्षीय रूपमा उठाउनुपर्ने र सम्बोधन गर्नुपर्ने मुद्दा हो । विश्वभरि रहेका नेपालीहरूको हकहितका निम्ति राज्यले यस्ता मुद्दाहरू अन्तर्राष्ट्रिय फोरमहरूमा उठाउनुपर्छ र त्यसमार्फत् सम्बोधन गर्नुपर्छ भन्नेमा म प्रस्ट छु । चाहे खाडीलगायत विभिन्न मुलुकमा रहेका नेपाली कामदारहरूको सवाल होस्, चाहे भूतपूर्व गोर्खा, विश्वभरि विभिन्न मुलुकमा कार्यरत नेपालीहरूको कुरा होस् ।’
ब्रिटिस सेनामा रहेर विश्व युद्धमा सामेल हुनु नेपालीहरूको रहर नभएको उल्लेख गर्दै उनले जागिरे जीवनको सिलसिलामा आफ्नो सम्पूर्ण तागतका साथ इमानदारीपूर्वक युद्धमोर्चामा डटेको बताए ।
उनले भने, ‘युद्धमोर्चामा हजारौं वीर गोर्खालीहरू मारिए, बेपत्ता र घाइते भए । तर, आफ्नो जिम्मेवारीअनुसारको कर्तव्यबाट उनीहरू कहिल्यै च्यूत भएनन् । हाम्रा पुर्खाहरूको यही वीरता र ख्यातिका कारण नेपाल सगरमाथा र गौतम बुद्धको देश भनेर मात्र चिनिएको छैन, साहसी र इमानदार वीर गोर्खालीहरूको मुलुकका रूपमा समेत स्थापित छ । यो हामी सबैका लागि गौरवको कुरा हो ।’
पहिलो र दोस्रो विश्व युद्धका साथै ब्रिटिशको तर्फबाट लडिएका प्रत्येक युद्धमा अग्रमोर्चामा रहेर देशको रक्षा, विस्तार र सेवामा समर्पित गोर्खालीहरूलाई ब्रिटिश सरकारले समान व्यवहार र न्यायको प्रत्याभूति दिलाउन नसकेको उनको भनाइ थियो ।

Leave a Reply