एमाले लुम्बिनीको निर्वाचन अन्तिम समयमा सर्‍यो

रुपन्देही । पटक पटक समय सारेर सोमबार साँझ मतदानको तयारी गरिएको नेकपा एमाले लुम्बिनीको निर्वाचन प्रशासनको दबाबमा सरेको छ ।

रातिको समयमा चुनाव नगर्न दबाब परेपछि अहिले गरिएको तयारी रोकिएको हो । सर्वसम्मतको प्रयास असफल भएपछि दुई समूहमा विभाजित भएर प्यानसहित निर्वाचनमा होमिएको छ ।

सचिव पदमा बाहेक अन्य सबै पदाधिकारी पदमा दुवै पक्ष प्यानलसहित उम्मेदवार लिएर प्रचारप्रसारमा जुटेका छन् । निर्वाचन समितिले राती ८ बजेबाट सुरु गर्ने भने पनि पौने १० बजे मतदान स्थगित गरेको छ । मतदान मङ्गलवार बिहान ७ बजेबाट गर्ने जानकारी गराएको छ ।

निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीका अनुसार मतपत्र छपाइमा ढिलाइ भएकाले सोमबार तोकिएको समयमा निर्वाचन हुन नसक्ने भएपछि मङ्गलवार बार बिहान गर्ने गरी सारिएको हो । तर, स्थानीय प्रशासनले रातीमा निर्वाचन नगर्न दबाब दिएपछि अन्तिम समयमा आएर मतदान रोकिएको हो ।

एमाले लुम्बिनीको अध्यक्ष पदका लागि पाल्पाका राधाकृष्ण कँडेल र प्यूठानका हरिप्रसाद रिजालले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ र विश्वराज बराल (अनुप), बाँकेका पुजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वली छन् । सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध भएका छन् ।
उपसचिव पुरुष तर्फ एक पदका लागि रुकुम पूर्वका उपेन्द्रलाल कामी, रोल्पाका पूर्ण बुढामगर र बाँकेका दुर्गाप्रसाद थारु (चौधरी) छन् । त्यस्तै उपसचिव महिला तर्फ एक पदका लागि बाँकेकी आरती पौडेल, बसन्ती अधिकारी र बर्दियाकी लिला राना मगर छन् ।

उम्मेदवारी दिएकामध्ये कँडेल प्यानलबाट उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ र सहसचिव पुरुषमा दुर्गाबहादुर चौधरी र महिलामा लिला राना मगर रहेका छन् । त्यस्तै रिजाल प्यानलबाट उपाध्यक्षमा रुपन्देहीका विश्वराज बराल, उपसचिव पुरुष तर्फ रोल्पाका पूर्ण बुढामगर र महिला तर्पm बाँकेकी बसन्ती अधिकारी छन् । सचिव दुवै प्यानलको समर्थनमा निर्विरोध भएका हुन् ।

पदाधिकारमा ५ पदका लागि १३ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा प्यानल बाहिरबाट बाँकेका पुजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वलीले उम्मेदवारी दिएका छन् । त्यस्तै उपसचिव पुरुषमा रुकुम पूर्वका उपेन्द्रलाल कामी र महिला उपसचिवमा बाँकेकी आरती पौडेलले प्यानल बाहिरबाट उम्मेदवारी दिएका छन् ।

२ सय जना सदस्यका लागि ३ सय ५ जनाले उम्मेदवारी दिएका छन् । पटक पटक निर्वाचनको समय सारेर दुःख दिएको भन्दै विभिन्न जिल्लाबाट सहभागी प्रतिनिधि आक्रोशित छन् । १६ र १७ गतेका लागि तोकिएको अधिवेशन १८ गतेसम्म मतदान नभएपछि प्रतिनिधिहरूलाई समस्या परेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *