काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक निर्माणको जिम्मा लिएको नेपाली सेनासँग छलफल गरेका छन् । लामो समयदेखि भौतिक पूर्वाधारका क्षेत्रमा पनि काम गर्दै आएको नेपाली सेनाले ५ आयोजनामा निर्माण गरिरहेको छ ।
नेपाली सेनाले निर्माण गरिरहेका कतिपय आयोजना सन्तोषजनक नभएपछि मन्त्री ज्वालाले छलफल गर्न सुरु गरेका हुन् । काठमाडौं–तराई मधेश फास्ट ट्रयाकमा भने जति काम हुन सकेको छैन भने कर्णाली करिडोरमा पनि सन्तोषजनक काम भएको छैन ।
‘१८ भदौमा नेपाली सेनासँग छलफल गर्ने कार्यक्रम तय गरेका छन्’, मन्त्रीका निजी सचिव रामहरी शर्माले भने, ‘छलफलपछि मन्त्रीले आफै स्थलगत भ्रमणमा पनि जाने कार्यक्रम तय भएको छ ।’
नेपाली सेनाले काठमाडौं-तराई मधेश, कोशी करिडोर, गोरखाको लार्के भञ्याङ, कर्णाली करिडोरको खुलालु र सल्लीसल्ला, दार्चुला टिंकर सडक निर्माण गरिरहेको छ । यी सबै ठाउँको स्थलगत अध्ययन गर्ने कार्यक्रम मन्त्रीको रहेको छ ।
काठमाडौं तराई मधेश फास्ट ट्रयाकको पछिल्लो समय डिपीआर संशोधन भएको छ । डिपीआर संशोधनपछि लागत मुल्य २ अर्ब २ करोड घटेको छ भने निर्माणको समय पनि घटेको छ । टनेल थपिँदा बाटोको लम्बाई पनि कम भएको छ ।
मन्त्री ज्वालाले सडक विभागअन्र्तत सञ्चालन भएका आयोजनाको ‘टाइम कार्ड’ लागु गरेका छन् । तर, नेपाली सेनाले आयोजना गरेका आयोजनाको तालिका बनेको छैन । तालिका बनाउन पनि १८ भदौमा छलफल गर्ने कार्यक्रम राखिएको छ ।

Leave a Reply