काम गर्ने वातावरण नभएको भन्दै विमानस्थल भन्सारका १३७ कर्मचारीले मागे सामूहिक सरुवा

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत् कर्मचारीहरूले काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै सामूहिक सरुवा मागेका छन् ।

भन्सार अधिकृतदेखि कार्यालय सहयोगीसम्मका १३७ कर्मचारीले विभागसमक्ष सरुवा मागेका हुन् । पछिल्लो समयमा ६० किलो सुन बरामदको घटनापश्चात विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा विभिन्न निकायहरूबाट आफूहरूलाई विनाकारण दु:ख दिने तथा मानसिकरूपमा क्षतविक्षत् बनाएकाले कार्यालयमा रही कामकाज गर्न कठिनाई महसुस भएको उनीहरूको गुनासो छ ।

‘कर्मचारीहरूले निरन्तररूपमा आफ्नो कर्तव्य निर्वाह गर्ने शिलशिलामा रात दिन नभनी २४ सै घण्टा सार्वजनिक बिदाका दिनहमा समेत कुनै अतिरिक्त सेवा सुविधा नलिई प्रचलित कानूनबमोजिम नियमित रूपमा कामकाजमा खटिएका छौं । कामकाजको सिलसिलामा भन्सार राजस्व उठाउँदा यात्रु शाखामा यात्रुबाट हुने दुर्व्यवहार र अपशब्दको त कुनै सीमा नै छैन’, महानिर्देशसमक्ष मागिएको सामूहिक सरुवाको निवेदनमा उल्लेख छ ।

‘घटनामा दोषी जो कोहीलाई कानून बमोजिम काबारही गरियोस् भन्ने कुरामा हाम्रो कुनै द्विमत रहेन तर कर्तव्य पालनको शिलशिलामा खटिएका कर्मचारीहरुमाथि अनावश्यकरूपमा धरपकड गर्ने, प्रमाणविना थुनामा राख्ने, संलग्नता भएको यथेष्ट प्रमाण नहुँदा नहुँदै समेत पक्राउ गरी दु:ख दिने नियत देखिएको हुँदा कार्यालयमा उपस्थित भई तोकिएको कार्यजिम्मेवारी पुरा गर्न हामी कर्मचारीहरूमा व्यक्तिगत मनोवैज्ञानिक त्रास उत्पन्न भएको छ ‘, कर्मचारीले भनेका छन् ।

विनाकारण भोग्नुपरेको मानसिक तनावका कारण घर परिवार तथा समाजबाट समेत बहिष्कार हुने स्थिति सिर्जना भएको उनीहरूको जिकिर छ ।

उनीहरूले आफूलाई दिइएको दु:ख र पाएको समस्याबारे निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनसमक्ष सरुवाको लागि आवश्यक पहलका लागि याचनासमेत गरेका छन् ।

आफूहरूको सरुवा मागको सुनुवाइ नभए कार्यालयको नियमित कार्य सम्पादन प्रभावित हुन सक्ने उनीहरूको चेतावनी छ ।

Comments

2 responses to “काम गर्ने वातावरण नभएको भन्दै विमानस्थल भन्सारका १३७ कर्मचारीले मागे सामूहिक सरुवा”

  1. Ashok adhikari Avatar

    मेन काम त माथी बाट अडर हुन्छ अनि के गरून् त साना तिना कर्मचारी ले तर यदि आफ्नो कर्तब्री न बिर्सियको यस्तो कान्द हुने थियन ।यिनिहरु लाई पनि छोडनु हुदैन

  2. Umesh Kumar Rai Avatar
    Umesh Kumar Rai

    यिनिहरु अब पक्राउ परिने डरले भाग्न खोज्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *