मंगलबारदेखि भैरहवाबाट नेपाल वायुसेवाको हङकङ र दिल्लीमा नियमित उडान हुने

रुपन्देही । नेपाल वायुसेवा निगमले आज मंगलबारबाट रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान गर्ने भएको छ । यसका लागि १० गतेबाट नै टिकट बुकिङ खुलाइएको थियो ।

मंगलबार हप्ताको एक दिन एक उडानबाट सेवा सुरु गरेर मागको आधारमा उडानको संख्या थप्दै लगिने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिएका छन् ।

भैरहवाबाट बिहान ८ः१५ मा उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ। त्यसपछि ट्रान्जिट भइ हङ्गकङ्ग जाने यात्रु हङकङको उडानमा र दिल्ली जाने यात्रु निगमकै कनेक्टिङ्ग उडानमा चढ्ने छन् ।

यात्रुको सुविधाको लागि चेक इन गर्दाकै बखत गन्तव्यसम्मकै बोर्डिङ् पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइने पौडेलले बताएका छन् ।

२०७९ जेठ २ गते अन्तर्राष्ट्रिय उडान शुभारम्भ भएपनि यो विमानस्थलबाट निरन्तर उडान नभएको भन्दै निजी क्षेत्रले गुनासो गरिरहेको छ । सुरुमै जजिरा एयरले सातामा तीन उडान थालेपनि नियमित हुन सकेको छैन भने अन्य विमान कम्पनीले पनि सेवा सुरु गरेका छैनन् ।

अर्बौंको लगानीमा निर्माण भएको यति ठूलो परियोजना नियमित संचालन नहुँदा सरकारले आलोचना खेपेको छ भने भारतसँग हवाई रुटको व्यवस्थापन नभएका कारण यहाँबाट धेरै अन्तर्राष्ट्रिय उडान हुनसकेका छैनन् । प्रधानमन्त्री, विभागीय मन्त्री तथा अन्य नेताहरुले नियमित उडानको पहल गर्ने प्रतिवद्धता जनाएपनि त्यो प्रतिवद्धता कार्यान्वयन हुनसकेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *