कैलाली । दुर्गा दशरथ भट्ट स्मृति प्रतिष्ठानले सुदूरपश्चिम प्रदेशका तीन अस्पताललाई करिब १ करोड २२ लाख मूल्यका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
प्रतिष्ठानले आज डडेल्धुरा अस्पताल, सेती प्रादेशिक अस्पताल र महाकाली प्रादेशिकलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । प्रतिष्ठानका संरक्षक तथा पूर्व मन्त्री, नेकपा एमालेका केन्द्रीय सचिव एवम् कर्णाली इन्चार्ज लेखराज भट्टले सेती अस्पताल व्यवस्थापन समितिका अध्यक्ष निर्मल शाह, डडेलधुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर भट्ट र महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टलाई सम्झौता पत्र हस्तान्तरण गरेको हुन् ।
सुदूरपश्चिम प्रदेशका तीन ठुला अस्पतालमा हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्रीले यहाँका थुप्रै बिरामीहरूलाई राहत मिल्ने अस्पतालका अध्यक्षहरूले बताएका थिए ।
आफ्ना स्वर्गीय माता पिताको नाममा पूर्व मन्त्री भट्टले प्रतिष्ठान स्थापन गरेका हुन् । यस अघि कोरोना महामारीका बेलामा पिसिआर मेसिन उपलब्ध गराउने देखी स्थानीय तहलाई एम्बुलेन्स हस्तान्तरण गर्ने सम्मको काम यस प्रतिष्ठानले गरेको छ ।
स्वास्थ्य सामग्री सञ्चालनको प्रतिबद्धता पत्र हस्तान्तरण गर्दै पूर्व मन्त्री भट्टले बिरामीको स्वास्थ्य उपचारमा गम्भीर बन्न र जनतालाई सरल सुलभ उपचार सेवा दिन सुझाव दिएका थिए । उनले आफ्नो बुवा आमाको प्रेरणाले आफू पनि समाजसेवामा रहेको बताए ।
प्रतिष्ठानसँग काठमाडौँको हेम्स अस्पतालले सहकार्य गरेर स्वास्थ्य सामाग्री सहयोग गरेको हो । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका संरक्षक गोकर्ण भट्ट, गोदावरी नगरपालिकाका निवर्तमान नगरप्रमुख हरि सिंह साउँद, प्रतिष्ठानका कोषाध्यक्ष शर्मानन्द भट्ट लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply