काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन युवा संघभित्रको असन्तुष्टि चुलिएको छ ।
आइतबार बसेको सचिवालय बैठकले राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको संयोजकमा कृष्ण विकलाई चयन गरेपछि नेताहरूले असन्तुष्टि जनाएका हुन् ।
सहसंयोजक जिम्मेवारी तोकिएका नितेश पौडेलले बहुमत सदस्यलाई बेवास्ता गरेर राखिएको बैठक आधिकारिक नै नभएको दाबी गरेका छन्। उनले आफ्नो पक्षमा बहुमत हुँदा हुँदै विकलाई संयोजक बनाएकोप्रति असन्तुष्टि जनाएका हुन् ।
यस्तै, सचिवालय बैठकले सदस्य-सचिवको जिम्मेवारी दिएको सञ्जीव राईले पनि उक्त पदमा बस्न अस्वीकार गरेका छन् ।
राईले फेसबुकमा लेखेका छन्, ‘युवा संघ नेपालको भाद्र १० गते सम्पन्न सचिवालय बैठकले मलाई संगठनको सदस्य–सचिव घोषण गरे पनि, म यो जिम्मेवारीमा नरहने जानकारी गर्दछु । साथै मप्रति श्रद्धा माया र शुभेच्छा प्रकट गर्नु हुने सबै कमरेडहरूलाई विशेष धन्यवाद ।’
संगठनमा देखिएको अराजकता र गतिरोधलाई तोडेर पार्टी सचिवालय र संघको बैठकले महाधिवेशन आयोजक कमिटी संयोजक कृष्ण विक र सहसंयोजक नितेश पौडेल अघि बढ्न सुझाव दिएका छन् ।
गत शनिवार नेकपा एसनिकट युवा संघका अलग अलग भेला भएका थिए । अध्यक्ष नरेश शाहीको नेतृत्वमा कालोपुलमा भएको बेलाले विकलाई अध्यक्ष चयन गरेको हो । नितेश पक्षले भने अर्याल होटलमा अलग भेला गरेको थियो ।

Leave a Reply