राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दैछ । सिंहदरबारस्थित दलको कार्यालयमा साँझ ५ बजे बैठक बोलाइएको उपसभापति डोलप्रसाद अर्यालले बताए ।

बैठकमा विषयगत समितिको सभापति निर्वाचन, पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्त्वलगायतको विषयमा छलफल हुने उनले बताए । बैठकले विषयगत समितिको निर्वाचनमा मतदान गर्ने वा नगर्ने भन्नेबारे पनि निर्णय लिने उनको भनाइ छ ।

अर्यालले भने, ‘बैठकमा सभापतिबाट समसामयिक राजनीतिक घटनाबारे ब्रिफिङ गर्नुहुन्छ । त्यसबारे संसदीय समिति सभापति निर्वाचनबारे पनि पार्टीले ठोस धारणा बनाउँछ ।’

समितिको नेतृत्व चयन गर्न भदौ ११ गते निर्वाचन हुँदैछ । तर, सत्ता र प्रमुख प्रतिपक्षी दलबीच भागबन्डा गर्दा रास्वपा र राप्रपालाई बाइपास गरिएको छ ।

यसअघि सत्ता र प्रमुख प्रतिपक्षी दलबीच कांग्रेसलाई ४, एमालेलाई ३, माओवादी केन्द्रलाई २, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमत पार्टीलाई १–१ वटा समितिको नेतृत्व दिने सहमति भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *