सिन्धुपाल्चोक । पूर्व अरनिको यातायात प्रालिले आफ्नै लगानीमा छुट्टै बसपार्क निर्माण गरेको छ ।
काठमाडौ महानगरपालिकाले असार १ गतेदेखि महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिरिने लामो, र मध्यम दूरीमा सञ्चालन हुने यात्रुवाहक सवारी साधनहरुलाई अनिवार्य रुपमा काठमाडौंकाे गोंगबु बसपार्कबाट नै छुट्नुपर्ने व्यवस्था गरेपछि अरनिकाेले छुट्टै बसपार्क निर्माण गरेकाे हाे ।
राजधानी पूर्वका जिल्लामा सञ्चालन हुने यातायातका साधानहरुलाई गोंगबु बसपार्कमा नै पुग्नुपर्ने निर्णय अव्यवहारीक रहेको भन्दै पूर्व अरनिको यातायाता प्रालिले काठमाडौं महानगरपालिका–३२ नम्बर वडाको जडिबुटीमा सुविधासम्पन्न बसपार्क निर्माण कार्य अन्तिम चरणमा पुर्याएको छ ।
१४ रोपनी जग्गा भाडामा लिएर पूर्व अरनिको यातायात प्रालिले सुविधासम्पन्न बसपार्क निर्माण कार्य अन्तिम चरणमा पुर्याएको अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए ।
राजधानी पूर्व सञ्चालन हुने यात्रुवस र यात्रुहरुलाई गोगंबु नै पुगेर बस चढ्नु पर्ने निर्णय अव्यवहारीक र आर्थिक रुपमा समेत भार पर्ने भएपछि आफुहरुले जडिबुटीमा सुविधासम्पन्न बसपार्क निर्माणको सुरुवात गरेको अध्यक्ष क्षेत्रीले जानकारी दिए ।

निर्माणकार्य करिब ९५ प्रतिशत सकिएको छ,अब कालोपत्रे गर्न मात्रै बाँकी रहेको छ अध्यक्ष क्षेत्रीले भने,‘मौसममा सुधार हुन साथ केही दिन भित्रै कालोपत्रे गछाैं ।’ दशैं अगाडि नै जडिबुटी बसपार्क सञ्चालनमा ल्याएर त्यहीबाट यात्रुहरुलाई सेवा दिने अध्यक्ष क्षेत्रीले जानकारी दिए ।
काठमाडौं महानगरपालिकासँग बसपार्क निर्माणका लागि अनुमति मागेपनि नदिएपछि वागमती प्रदेश सरकारका मन्त्री तथा सासंदहरुलाई निर्माणधिन बसपार्कमा ल्याएर यही बसपार्कबाट यात्रुहरुलाई सेवा दिनका लागि सहयोग गर्न समितिको तर्फबाट अनुरोध गरिएको क्षेत्रीले बताए ।
सोमबार बागमती प्रदेशका वन तथा वातवरण मन्त्री मसिना खडका भण्डारी सहित राजधानी पुर्वका जिल्लाका १० बढी सासंदहरुले निर्माणधिन बसपार्कको स्थलगत निरीक्षण गरेर प्रदेश सरकारको तर्फबाट बसपार्क सञ्चालनका लागि तत्कालै निर्णय गराउने आफुहरुलाई सासंद हरुले प्रतिवद्धता व्यक्त गरेको अध्यक्ष क्षेत्रीले बताए ।

बसपार्क निरीक्षणपछि बाग्मती प्रदेशकी वनमन्त्री मसिना खडका भण्डारीले महानगरले सबै बसहरुलाई गोगंबु नै जानुपर्ने निर्णयप्रति आफुलाई अच्चम लागेको बताइन । यस्ता बसपार्कहरु त महानगरले नै धेरै स्थानमा निर्माण गर्नुपर्ने हो,यातायात कम्पनी आफैले लगानी गरेर बसपार्क निर्माण गर्दा पनि महनागर ले असहयोग गर्नु गलत भएको मन्त्री खडकाले बताइन ।

त्यस्तै प्रदेश सासंद तारानारयण श्रेष्ठले प्रदेशको क्षेत्राधिकार पर्ने भएकाले अरनिकोले निर्माण गरेको बसपार्कलाई प्रदेश सरकारबाट सञ्चालन अनुमतीका लागि आफुहरुले पहल गर्ने बताए ।
त्यस्तै एमाले सासंद भरतबहादुर केसीले महानगरपालिकाले गरेको निर्णय महनागरको नभइ ट्राफिक विज्ञ जगतमान श्रेष्ठको मात्रै भएको टिप्पणी गरे । बहु जिल्लाको स्थानीयलाई सेवा दिने उदेश्यले निर्माण गरेको बसपार्कलाई काठमाडौ महानगरपालिकाले मात्रै निर्णय गर्न नसक्ने बताए ।
माओेवादी सासंद सरल सहयात्रीले काठमाडौ महानगरपालिकाले जस्तै अरु जिल्लाका नगरपालिकाहरुले पनि यस्ता निर्णय गरे के हुन्छ भन्दै राजधानी पूर्वका यात्रुहरुको साझा समस्या भएकाले वागमती प्रदेश सरकारको तर्फबाट बसपार्क सञ्चालनको अनुमती प्राप्त हुने उनले विश्वास दिलाए ।
पूर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्रीले काभ्रे,सिन्धुपाल्चोक,दोलखा,रामेछाप, सिन्धुली लगायतका जिल्लाका स्थानीय सरकारले काठमाडौको जडिबुटीमा नै बसपार्क हुँदा यस क्षेत्रका यात्रीहरुलाई सजिलो हुने भन्दै आफुहरुलाई पत्र समेत पठाएको क्षत्रीले वागमती प्रदेशका सासंदहरुलाई जानकारी गराएका थिए ।

बसपार्कमा सबै सुविधा
पूर्व अरनिको यातायात प्रालिले आफ्नै लगानीमा निर्माण गरेको बसपार्कमा अन्तराष्ट्रिय स्तरकै भएको पुर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्रीले दाबी गरेका छन् । १४ रोपनी क्षेत्रफलमा फैलिएको बसपार्कमा ५ सय बढी बसहरु पार्किङ गर्न मिल्ने गरेर निर्माण गरिएको अध्यक्ष क्षेत्रीले दाबी गरे ।
हामीले निर्माण गरेको बसपार्क अन्तराष्ट्रिय स्तरकै हुन्छ उनले भने । बसपार्कमा शौचालाय,यात्रुहरुका लागि बिश्राम कक्ष,निःशुल्क इन्टरनेट,होटेल,लज,नुहानका लागि तातोपानीको व्यवस्था लगायत सबै सुविधा रहेको अध्यक्ष क्षेत्रीले बताए ।
बसपार्क कस्तो हुन्छ हामीले निर्माण सम्पन्न गरेपछि हेर्नका लागि आउन सबैलाई आग्रह गर्दछौ क्षेत्रीले भने । वागमती प्रदेशका सासंदहरुले पनि निर्माणधिन बसपार्क सुविधासम्पन्न रहेको बताएका थिए ।


Leave a Reply