एमसीसीको विरोधमा प्रदर्शन, कार्यान्वयन गर्न खोजे प्रतिरोध गर्ने चेतावनी

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले नेपालमा लागू भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना कुनै पनि हालतमा लागू हुन नदिने जनाएको छ ।

बुधबार रन्तपार्कको शान्तिवाटिकामा आयोजित एमसीसी विरोध सभालाई सम्बोधन गर्दै उक्त पार्टीका नेताले छ । जनताको साथ लिएर देशभरका एमसीसी कार्यालयमा आगो लगाइदिने चेतावनी दिएका छन् ।

बिरोध सभामा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालय सदस्य सीपी गजुरेल ‘गौरव’ ले श्रीलङ्कालगायत मुलुकले एमसीसी फिर्ता गरिदिएको उदाहरण प्रस्तुत गर्दै नेपाली जनताले पनि सरकारलाई एमसीसी लागू हुन नदिन निरन्तर संघर्ष जारी राख्नुपर्ने धारणा राखे ।

उनले भने, ‘नेपालमा कुनै पनि हालतमा एमसीसी परियोजना लागू हुन दिनु हुँदैन । भदौ १४ गतेबाट लागू गर्ने भनिएको एमसीसी परियोजना जहाँ-जहाँ कार्यान्वयन गर्न खोजिन्छ, त्यहीँ प्रतिरोध गर्नेछौँ । नेता गौरवले ‘एमसीसी गो ब्याक, याङ्की इम्पेरियालिज्म गो ब्याक । नेपाली जनताले एमसीसी लागू गर्न दिँदैनन् भन्ने सन्देश दिनुपर्छ र नेपाललाई युद्धभूमि हुनबाट रोक्नुपर्छ ।’

नेता गौरवले अमेरिकाले एमसीसी लागू गर्ने बहानामा ल्याएका सामान नेपालीले हेर्न पनि नपाउने रहस्य उद्घाटन गर्दै खम्पा विद्रोहका नाममा चीनविरोधी उपद्रव मच्चाएझैँ अमेरिकी साम्राज्यवादले चीनलाई घेर्न नेपालमा हातहतियार भित्र्याइरहेको सूचना आएको र त्यसलाई निस्तेज पारेर उसको षड्यन्त्र असफल पार्न देशभक्त, क्रान्तिकारी जनता आन्दोलित बन्नुपर्ने धारणा पनि राखे ।

पार्टी कार्यालय सदस्य एवम् प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले एमसीसी कार्यान्वयन हुन दिनु नहुने, त्यसलाई खारेज गर्नुपर्ने र एमसीसीका देशभरका कार्यालयमा जनताको साथ लिएर आगो लगाइदिनुपर्ने बताए । चीनविरुद्ध नेपालको भूमि दुरुपयोग गर्ने योजनामुताबिक एमसीसी लाद्न लागिएको भन्दै उनले नेपालमा जबर्जस्ति अमेरिकी सैन्य क्याम्प खडा गर्ने षड्यन्त्र ध्वस्त पारेर नेपालको राष्ट्रियता रक्षा गर्नुपर्ने बताए ।

संसारभर अमेरिकाले एमसीसी लागू गरेको ठाउँमा युद्ध, अस्थिरता, बलात्कार, हत्या र अशान्ति मच्चिएको उदाहरण प्रस्तुत गर्दै प्रवक्ता कञ्चनले एमसीसी कार्यालयमा आगो लगाएर मात्र नहुने, एमसीसी लागू गर्ने दलाललाई पनि देशबाट लखेट्नुपर्ने धारणा राखे ।

अमेरिकी साम्राज्यवादी सेना नेपाल भित्र्याउने योजनाअनुसार नेपाली सेना विघटन गर्ने प्रस्ताव आइरहेको भन्दै प्रवक्ता कञ्चनले नेपाललाई युक्रेन हुनबाट बचाउन पनि एमसीसी खारेज गर्नैपर्ने धारणा राखे । पार्टी कार्यालय सदस्य एवम् तीन नं. प्रदेश इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले नेपाल र नेपाली जनताको हितविपरीत एमसीसी लागू हुन नदिइने उद्घोष गरे । नेता सुदर्शनले भने, ‘अमेरिकी साम्राज्यवादसँग कोही डराउनु हुँदैन । साम्राज्यवादी गिद्दलाई गोली हानेर खसाल्नुपर्छ । उसलाई यहाँ खुट्टा टेक्न दिनु हुँदैन । कुखुरा मार्न दिनु हुँदैन ।’

साम्राज्यवादलाई नेपालका गाउँ, टोलदेखि बस्ती सबैतिरबाट लखेट्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिँदै कार्यालय सदस्य सुदर्शनले अब देशलाई केपी वली, शेरबहादुर देउवा वा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जस्तो पराधीन बनाउन नदिइने र सम्पूर्ण देशभक्त, क्रान्तिकारी शक्ति एक भएर स्वतन्त्र बनाइने बताए । उनले देशभक्त जनता, प्रहरी, सेना, कर्मचारी र क्रान्तिकारी शक्तिलाई राष्ट्रियता बचाउने आन्दोलनमा लामबद्ध हुन आह्वान पनि गरे ।

विरोध सभा हुनुअघि पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तकहरूसहितको विशाल र्यालीले एमसीसीविरुद्ध नारा लगाउँदै शान्तिवाटिका, भोटाहिटी, असन, जमल, घन्टाघर हुँदै रत्नपार्क परिक्रमा गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *