एमाले गण्डकी अधिवेशनः को को छन् अध्यक्षका दाबेदार ?

पोखरा । देशमा संघीयता लागू भएपछि नेकपा एमालेले पहिलोपटक प्रादेशिक कमिटीहरुको अधिवेशन गर्दैछ । पार्टीको सचिवालय बैठकको निर्णयपछि अहिले सातै प्रदेशमा आन्तरिक चुनावी चहलपहल सुरु भइसकेको छ ।

गण्डकीमा प्रदेश कमिटीको पहिलो अधिवेशन आउँदो असोज १५ र १६ गते हुँदैछ । अधिवेशन आउन महिना दिनभन्दा बढी समय बाँकी छ र पनि चुनावी सरगर्मी सुरु भएको छ । नेताहरुले केन्द्रीय नेतासँग लबिइङ थालेका छन् । प्रदेश र जिल्ला तहका नेतालाई भेटेर आफू अनुकूल माहोल बनाउने दौडमा छन् ।

हालका अध्यक्ष नवराज शर्मादेखि उपाध्यक्ष मोहन रेग्मी, सचिव धनञ्जय दवाडीसम्मलाई सम्भावित अध्यक्षका रुपमा हेरिएको छ । त्यस्तै उपसचिव रश्मि आचार्य र विभिन्न जिल्लाका नेताहरु पनि अध्यक्षका दाबेदार छन् ।

एमालेका केही नेताहरु हालका अध्यक्ष नवराज शर्माको ट्रायल सकिएकाले उनी दोहोरिने सम्भावना कम रहेको बताउँछन् । ‘उहाँ (नवराज) ट्रायल पिरियडमा हुनुहुन्थ्यो । उहाँ निष्ठावान र इमानदार नेता भए पनि लिडरसिप गर्न सक्ने क्षमता रहेनछ । त्यसकारण पनि उहाँ दोहोरिने सम्भावना एकदमै कम छ’, एक नेताले भने ।

नवराजले पार्टीलाई चलायमान बनाउन नसकेको उनको आरोप छ ।

अर्कोतर्फ नेताहरु नवराजकै नेतृत्व दोहोरिन सक्ने सम्भावना अधिक रहेको बताउँछन् । एक नेताले भने, ‘नवराजजीकै नेतृत्वको कमिटी दोहोरिने जस्तो देखिन्छ । कमिटी समावेशी नभएकाले १÷२ जना साटफेर हुने सम्भावना देखिन्छ । अरु समिति उही नै रहन सक्छ ।’

अध्यक्ष शर्माले आगामी निर्वाचनमा अध्यक्षमा स्वाभाविक दाबी रहने बताए । ‘साथीहरुको विश्वास जित्न सकियो भने एक कार्यकाल काम गरौं कि भन्ने छ’, उनले भने, ‘अध्यक्षमा मेरो स्वाभाविक दाबी रहन्छ ।’

अहिले जजसले जे बोले पनि केन्द्रबाट निर्देशन आयो भने सोहीअनुसार चल्नुपर्ने बाध्यता आइपर्ने नेताहरु बताउँछन् । गण्डकीमा दुई फ्याक्टरले प्रभाव पार्ने देखिन्छ । बाहिर नदेखिए पनि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य एवं गण्डकीका पूर्वमुख्यमन्त्री खगराज अधिकारीबीचको सम्बन्ध उनीहरुले मुखले भन्ने जस्तो मित्रवत छैन । त्यसकारण पनि गण्डकीमा यी दुई पक्षबीच प्रतिस्पर्धा हुने बताइन्छ ।

पार्टी पंक्तिमा अधिकारीभन्दा गुरुङ बलिया देखिन्छन् । हालका अध्यक्ष शर्मा, उपाध्यक्ष रेग्मी, सचिव दवाडी गुरुङ निकट मानिन्छन् । तीबाहेक किरण गुरुङ, एमाले सचिव पद्मा अर्याल र अर्का सचिव तथा गण्डकी इन्चार्ज गोकर्ण विष्टको भूमिकाले पनि अध्यक्ष को बन्ने भन्नेबारे प्रभाव पार्न सक्छ ।

आंकाक्षा व्यक्त गर्ने समय अहिले नै नभएको सचिव दवाडीले सुनाए । ‘मितिमात्रै तय गरिएको छ । अधिवेशनका काम गर्न बाँकी छ । अध्यक्षको आकांक्षा राख्न त सबैले पाउँछन् । अध्यक्ष, उपाध्यक्ष, सचिवले आकांक्षा व्यक्त गर्नु स्वाभाविक नै हो नि ! अहिले आकांक्षा व्यक्त गर्ने समय भएको छैन’, उनले भने ।

५ वटा प्रदेशपछि गण्डकीको अधिवेशन छ । ५ प्रदेशमा कुन प्रकारले अधिवेशन हुन्छ, गण्डकीमा त्यसको प्रभाव पर्ने निश्चित छ । अघिल्ला प्रदेशमा सर्वसम्मत नेतृत्व चुनिए गण्डकीमा पनि त्यही बाटोबाट नेतृत्व चुन्न दबाब पर्नसक्छ ।

एमाले केन्द्रीय सदस्य मायानाथ अधिकारी र कृष्ण थापा पनि सम्भावित गण्डकी अध्यक्षका रुपमा देखिन्छन् । तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै केन्द्रीय सदस्यलाई प्रदेशमा नलैजाने भनेपछि उनीहरु प्रदेश कमिटी अध्यक्ष बन्ने सम्भावना न्यून रहेको एक नेताले बताए । मायानाथ उपमहासचिव गुरुङ र थापा स्थायी कमिटी सदस्य अधिकारी गुटका हुन् ।

‘उनीहरुलाई ल्याउँदा गुट-उपगुट सिर्जना हुने देखिएकाले अध्यक्षज्यू नै उहाँहरुलाई प्रदेश कमिटीमा नलैजाने कि भन्ने मुडमा हुनुहुन्छ’, एक नेताले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *