पोखरा । नेपाल माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले नेपाली नागरिकलाई भुटानी बनाएर अमेरिका लैजाने कुरा पहिलेदेखि नै चलिरहेको दाबी गरेका छन् । प्रेस सेन्टर नेपाल गण्डकीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका पौडेलले भुटानी बनाएर अमेरिका लैजाने काम पहिलेदेखिनै चलिरहेको दाबी गरेका हुन् ।
‘७ वर्षअघिको कुरा हो । सदनमा पनि कुरा उठ्यो । नेपाली नागरिकलाई भुटानी बनाएर अमेरिका लैजाने कुरा पहिलेदेखिनै चलिरहेको थियो । यो आजको विषय होइन । तर, अहिलेको सरकारले सुरुआत गरेको छ र प्रक्रिया अगाडि बढाएको छ’, उनले भने ।
माओवादी केन्द्रले गण्डकी प्रदेशका ११ वटै जिल्ला इन्चार्ज तोकेको छ । पार्टीको शनिबार बसेको ७ औं पूर्ण बैठकले प्रदेश अन्तर्गतका पालिका तथा वडामा समेत नेताहरुको जिम्मेवारी तोकेको हो ।
नेता राजकाजी गुरुङ (करण)ले स्याङ्जा जिल्ला इन्चार्ज, केन्द्रीय सदस्य दीपक कोइरालालाई गोरखा जिल्ला इन्चार्ज र नेत्रनाथ अधिकारी (हिमाल)ले कास्की जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन् ।
तनहुँमा शैलेन्द्र घिमिरे, लमजुङमा आशा खनाल, पर्वतमा बलावती शर्मा, मनाङमा बुद्धिराम गुरुङ, नवलपुर अमर तमु, बागलुङ गोविन्द पौडेल, म्याग्दीमा गुप्तबहादुर हमाल र मुस्ताङमा कपिल लामालाई इन्चार्जको जिम्मेवारी प्रदान गरिएको छ ।
पार्टी सबै पालिकाका वडासम्म पुग्ने र जनतासँग जोडिने माओवादी गण्डकी इन्चार्ज पौडेलले सुनाए । यो अभियानपछि विधान अधिवेशन र त्यसपछि राष्ट्रिय सम्मेलन गर्ने माओवादीको तयारी छ ।

Leave a Reply