वर्षमानको दावी- वर्तमान सरकार इतिहासकै लोकप्रिय, कांग्रेस र एमालेका पनि नेता प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले प्रचण्ड नेतृत्वको अहिलेको सरकार इतिहासकै सबैभन्दा लोकप्रिय रहेको दावी गरेका छन् ।

पार्टीको उपत्यका विशेष प्रदेश समिति बैठकमा शनिबार बोल्दै पुनले वर्तमान सरकार इतिहासकै सर्वाधिक लोकप्रिय सरकार भएको दाबी गरेका हुन् । सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएका कारण सरकारलाई जनताले मन पराएको उनको दावी छ ।

नेता पुनले भने–‘सरकारले सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएको छ । सुशासनको जगमा समृद्धि हासिल गर्नेतिर सरकारको काम निर्देशित छ । इतिहासमा पहिलोपटक सरकार पपुलर (लोकप्रिय) भएको छ ।

पुनले मुलुकलाई सही नेतृत्व गर्न सक्ने शक्ति आफ्नो दल र नेता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भएको बताए । त्यसैकारण संसदमा तेश्रो शक्ति भएर पनि माओवादी अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गरिरहेको बताए ।

पुनले भने–प्रचण्ड माओवादीको मात्र नभई काँग्रेस र एमालेको समेत नेता हो । ३२ सिटसहित प्रतिनिधिसभामा हामी तेश्रो शक्ति छौं, तर सरकारको नेतृत्व गरिरहेका छौं । राष्ट्रिय राजनीतिमा सकालीन नेता प्रचण्ड नै हो । काँग्रेस–एमालेले बेलाबेला गाली गर्छन्, तर अप्ठेरो पर्दा निकासका लागि प्रचण्ड नै खोज्ने स्थिति छ ।

गत मंसिरमा सम्पन्न आम निर्वाचनमा पार्टीले करिब ११ प्रतिशत मत पाए पनि सरकारको कामबाट ९० प्रतिशत जनता खुसी भएको उनको भनाइ थियो ।

पुनले सुशासनका लागि काम गर्दा कहिले प्रतिपक्ष र कहिले सरकारमै सहकार्य गरिरहेका रानजीतिक शक्ति आफूहरुसँग चिढिएको बताए । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनाहिना प्रकरणको छानबिन अघि बढ्दै गरेका बेला एमालेले बहुमत जुटाउन प्रयास गरेको खुलासा समेत पुनले गरे ।

सरकारले गरेको राम्रा कामबारे जनतामा सम्प्रेषण गर्ने उद्देश्यले हालै सम्पन्न पार्टी केन्द्रीय समितिले तीन महिने अभियानको कार्यक्रम पारित गरेको बताए । पार्टी अध्यक्ष प्रचण्डले सात प्रदेशका एकएक वडामा आफैं गएर संगठन निर्माण गर्छु भन्नुले पार्टीमा नयाँ रक्तसञ्चार पैदा भएको उल्लेख गरे ।

राष्ट्रिय मुद्धाहरुमा प्रमुख प्रतिपक्षीसहितका दलसँग हातेमालो गरेर अघि बढ्ने नीतिमा आफूहरु रहेको उनले बताए । संसदका विषयगत समितिहरुमा बहुमत र अल्पमतका आधारमा सभापति चुन्ने परम्परा भए पनि सबैलाई मिलाएर लैजानकै लागि प्रतिपक्षी एमालेलेलाई तीन समितिको सभापति दिने सहमति भएको उनको भनाइ थियो ।

पुनले पूर्वमाओवादीसहित विचार र पृष्ठभूमि मिल्ने दलहरुसँग एकता र ध्रुवीकरण गर्दै जाने नीति रहेको पनि उल्लेख गरे ।

Comments

3 responses to “वर्षमानको दावी- वर्तमान सरकार इतिहासकै लोकप्रिय, कांग्रेस र एमालेका पनि नेता प्रचण्ड”

  1. ksp pyl Avatar
    ksp pyl

    हो त । सुनमा तिम्रो संलग्नता हुँदाहुँदै पनि कारवाहीको क पनि गरेन सरकारले । तिमीले चाकडी गरेको के अनौठो भयो र । देहद्रोही, भ्रष्टाचारी, तस्करीका नाईकेहरूले भरिएको सरकार हो यो ।

  2. nagendra Avatar
    nagendra

    छट्टु स्याल हुन प्रचन्ड :: ईतिहासमा सबै भन्दा कलंकीत सरकारको रुपमा प्रख्यात हो यो सरकार !!

  3. Chhabi Sharma Avatar
    Chhabi Sharma

    वर्षमानको दावी अनुसार वर्तमान सरकार इतिहासकै लोकप्रिय हुन सकेकोले ३२ सीट भए पनि प्रधानमन्त्री पाएका छौं, ११ प्रतिशत मत पाएको माओवादीको कामबाट ९० प्रतिशत जनता खुसी छन्’ वर्षमान पुनः ज्यू कुन देशका ९० प्रतिशत जनता खुसी छन स्पष्ट गरिदिनु हुन्छ कि? इतिहास मै सबैभन्दा कलंकित सरकार भएकै कारण भ्रष्टाचारी, तस्कर, देशद्रोही र देशका युवाहरूलाइ विदेशमा श्रम बेच्न बाध्य पारी रेमिटेन्स खाएर देश चलाउन अनुवन्धित भएर संचालन गर्दै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *