कास्कीका विद्यालयमा मंगलबार सार्वजनिक बिदा

पोखरा । ट्होंटे पर्वको अवसरमा मंगलबार कास्कीका विद्यालयमा बिदा हुने भएको छ । शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले सोमबार सूचना जारी गर्दै गुरुङ समुदायको परम्परागत पर्व ट्होंटेको अवसरमा मंगलबार विद्यालयहरुमा बिदा हुने जनाएको हो ।

तमु धीं नेपालको अनुरोधपछि स्थानीय बिदाबाट कट्टा हुने गरी मंगलबार बिदा दिन पत्रचार गरिएको इकाइ प्रमुख लोकराज आचार्यले जानकारी दिए ।

‘विगतमा प्रदेशमा बिदा दिइएको थियो । पहिले शिक्षा कार्यालयले दिने गरेको थियो’, उनले भने, ‘स्थानीय तहका शिक्षा प्रमुखहरुसँग समन्वय गरेर सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरु सहभागी हुने र संस्कृति बुझ्ने भन्दै अनुरोध आएकाले पत्राचार गरेका छौं ।’

ट्होंटे पर्वको अवसरमा मंगलबार रानीपौवामा भेला भएर झाँकी, बाजागाजासहित महेन्द्रपुल, नयाँबजार हुँदै तमु धींको कार्यालयमा आएर र्‍याली सभामा परिणत हुने तमु धीं नेपालका अध्यक्ष हुम गुरुङले जानकारी दिए ।

तमु धीमा पोखरा महानगर र संस्थाको लगानीमा बनेको ‘रोधी हल’समेत उद्घाटन गर्ने कार्यक्रम छ ।

पोखरामा तमु संघ, संस्थाहरको अगुवाइमा साउन र चैत महिनाको अन्तिम मंगलबार ट्होंटे मनाउने गरिएको छ । विगतमा गाउँबस्तीलाई सुरक्षित राख्न, दृश्य, अदृश्य वैरी हटाउन मनाइने ट्होटेको स्वरुप अहिले फेरिएको छ ।

‘अहिले पनि विभिन्न खालका सामाजिक विभेद छन्, विकृति, विसंगति छन् । सामाजिक न्याय छैन’, तमु धीं नेपालका अध्यक्ष गुरुङले भने, ‘तमुले समान अधिकार प्राप्त गरेका छैनन् । सबै नकारात्मक कुरालाई समाजबाट हटाउँदै समतामूलक समाजको माग गर्दै हामी ट्होंटे मनाउँदै छौं ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *