प्रचण्डको दाबी- भ्रष्टाचारविरोधी सरकारको कदमबाट तस्करहरू तर्सिए

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको पछिल्लो कदमबाट राज्य दोहनकर्ता र तस्करहरू तर्सिएको बताएका छन् ।

सिंहदरबारमा आयोजित प्रधानमन्त्री र संघीय सरकारका मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रको पुनरुत्थान, सार्वजनिक सेवा प्रवाहमा सुधार, सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखी सरकारले आफ्ना सम्पूर्ण शक्ति र सामर्थ्य लगाइ देश र जनताको हितमा परिचालन गर्न जोड दिँदै आएको बताए ।

‘सबै क्षेत्रमा सकारात्मक भाष्य र सरकारप्रतिको भरोसा बढेर गएको छ । सुशासनको प्रत्याभूति जनताले गर्ने अवस्था सिर्जना भएको छ । कुनै पनि मुलुकको शासकीय प्रणाली आफैंमा उत्कृष्ट हुँदैन । विभिन्न परिवेश र पात्रका कारण सवल र दुर्वल पक्षहरू सिर्जना हुन्छन् । हाम्रो शासकीय प्रणाली कार्यान्वयन गर्ने हरेक संयन्त्रहरूले निहित व्यक्तिगत स्वार्थ अर्थात कन्फ्लिक्ट अफ इन्ट्रेष्टबाट माथि उठेर मुलुकको बृहत्तर हितमा सीप, क्षमता र सोचलाई दृढ संकल्पसहित लगाउने हो भने नेपाललाई विकसित मुलुकको दाँजोमा पुर्‍याउन धेरै समय लाग्दैन’, उनले भने ।

सुशासन, सामाजिक न्याय र समृद्विको यात्राका लागि शासकीय संयन्त्रहरू चुस्त दुरूस्त हुनुपर्ने उनको भनाइ छ ।

प्रचण्डले भने, ‘सरकारका भ्रष्टाचारविरोधी अभियान र कदमबाट पछिल्लो समयमा राज्य दोहनकर्ता र तस्करहरू तर्सिएका छन्, अत्तालिएका छन् । मुलुकको विकास तथा समृद्विको ठूलो रोग भ्रष्टाचार उन्मूलनका लागि सरकारले अझै सशक्त कदम चाल्नेछ । यसका लागि सबैको सहयोग र समर्थनको अपेक्षा गरेको छु ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *