लुम्बिनीको विद्युत् समस्या समाधानका लागि ध्यानाकर्षण

रुपन्देही । लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रभित्र र बाहिर विद्युत्को समस्याका बारेमा नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय बुटवल र वितरण केन्द्र भैरहवाका प्रमुखसँग भेट गरी छलफल गरेको छ ।

कोषका कोषका निमित्त उपाध्यक्ष एवम् कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्यसचिव सानुराजा शाक्य र योजना प्रमुख सरोज भट्टराईले विद्युत् समस्याको दीर्घकालीन समस्या समाधानका विषयमा छलफल गरेका हुन् ।

नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्रमुख नवराज ओझालाई बुद्धजन्मस्थल लुम्बिनीको गुरुयोजना क्षेत्रभित्र विद्युतका कारण निकै समस्या भोग्नुपरेकाले त्यसको समाधान गर्न कोषका तर्फबाट प्राधिकरणको ध्यानाकर्षण गराइएको कोषले जनाएको छ ।

कोषका निमित्त उपाध्यक्ष भट्टराईले अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनीमा अनियमित विद्युत् कटौती, भोल्टेजको समस्याले हैरानी बनाएकाले यसको दीर्घकालीन समाधान गर्न आग्रह गरे ।

सदस्य सचिव सानुराजा शाक्यले धेरै पटक छलफल गरिए पनि विद्युत्को समस्या हल हुन नसकेकाले कोषभित्रको विद्युत् समस्याको प्राविधिक समस्याको अध्ययन गरी समाधान गर्न सुझाव दिएका छन् । योजना प्रमुख सरोज भट्टराईले गुरुयोजनामा विद्युतको समस्यालाई समाधान गर्न कोष प्राधिकरणसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए ।

गुरुयोजना क्षेत्रभित्र विस्तार गरिएको तार, सोलारको ऊर्जा विद्युत् ग्रिडमा जडान जस्ता समस्यालाई प्रदेश तहबाट समाधान गर्ने प्रदेश निर्देशक नवराज ओझाले प्रतिबद्धता जनाए । कोषका पदाधिकारीहरूले नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रका सहायक प्रबन्धक संजय कुमार मिश्रलाई समेत भेट गरेको छ ।

यसअघि कोषाध्यक्ष भट्टराईको नेतृत्वमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेट गरी कोष र लुम्बिनी क्षेत्रका लागि छुटाछुट्टै रूपमा विद्युत् वितरणको व्यवस्था गर्न माग गरेका थिए ।

सोही मागअनुसार अहिले लुम्बिनी विकास कोषको गुरुयोजना क्षेत्रभित्र छुट्टै फिडर जडानसमेत भइसकेको छ । जसका कारण अहिले लुम्बिनीको बाहिर क्षेत्रमा विद्युत् कटौती, लोभोल्टेज जस्ता समस्याहरु समाधान भएको नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रका सहायक प्रबन्धक संजय कुमार मिश्रले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *