झलनाथको दस्तावेज चिरफार- दक्षिणपन्थी कांग्रेसको पिछलग्गु बन्यौं, वामपन्थी एमालेलाई शत्रु शक्ति ठान्यौं

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूहरूले नेकपा एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि गर्न नसकेको बताएका छन् । पार्टीको जारी स्थायी कमिटीको बैठकमा पार्टी नेतृत्वको कार्यशैलीमाथि उनले प्रश्न उठाए ।

खनालले बैठकमा पेश परेको १६ पृष्ठको दस्तावेजमा भनिएको छ, ‘हामीले कसका विरुद्ध प्रतिद्वन्द्वीता गर्ने, त्यसमाथि पनि कुन राजनीतिक शक्ति वा गुट मुख्य प्रतिद्वन्द्वीता गर्ने र कसलाई आफ्ना वरिपरि गोलबन्द गर्ने यस बारेमा भुल गरियो भने हाम्रो क्रान्तिकारी यात्रा एक पाइला पनि अघि बढ्दैन ।’

नेपाली समाजको ठोस राजनीतिक स्थितिमा पार्टीको र सबै वामपन्थी समूहरूको मुख्य प्रतिद्वन्दी शक्ति भनेको मुख्यतः दक्षिणपन्थी शक्तिका रुपमा रहेको नेपाली काँग्रेस बाहेक अरु कुनै हुन नसक्ने भन्दै सबै वामपन्थी समूहहरूले प्रष्ट क्रान्तिकारी दृष्टिकोण र अडान राख्न सक्नुपर्ने उल्लेख गरेका छन् ।

दस्तावेजमा भनिएको छ, ‘तर अन्य अधिकांश वामपन्थी समूहहरू ठीक यही विन्दुमा चुकिरहेका छन् । उनीहरू मुख्य प्रतिद्वन्द्वी शक्तिसँग ‘गठबन्धन’, ‘कार्यगत एकता’ वा ‘मोर्चा’ बनाउँदै सत्ताका चुस्की लिइरहेका छन् । यो दक्षिणपन्थी कार्यदिशा हो । यो दक्षिणपन्थी कार्यदिशाले वामपन्थीहरूलाई निरन्तर अधोगति, सुस्तता, विभाजन र पलायनतिर लगिरहेछ । दक्षिणपन्थीहरुलाई लगातर फाइदा पुगिरहेछ । उनीहरु वामपन्थीहरुलाई विभाजन गर्न र त्यसको एक हिस्सालाई उपयोग गरेर आफ्नो शक्ति वृद्धि गर्न सफल भइरहेछन् ।’

वामपन्थी समूहहरु दक्षिणपन्थी शक्तिका प्यादा र वैशाखीजस्ता बनेर आफ्नो शाख निरन्तर गिराइरहेका खनालको भनाइ छ । आफ्ना गल्तीहरूलाई स्वार्थमुक्त भएर आँटलाई सच्चाउँदै राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तको जगमा उभ्याउनुपर्ने उनले बताएका छन् ।

प्रधान राजनीतिक अन्तरविरोध र प्रमुख राजनीतिक प्रतिद्वन्द्वीलाई ठीक ढंगले ठम्याउनु पर्छ र क्रान्तिको प्रवाहलाई निशाना केन्द्रित ढंगले अघि बढाउनुपर्ने भन्दै उनले दस्तावेजमा पार्टी विद्रोह गर्ने बेलाको जस्तो शक्ति आफूहरूमा नभएको र उत्साह कम हुँदै गएको बताएका छन् । पार्टीभित्र जनमत खुम्चिदै गएको भन्दै उनले स्थानीय निर्वाचनमा पार्टीले ६ लाख मत पाएपनि राष्ट्रिय चुनावमा आउँदा ३ लाख पनि कटाउन नसक्नु दु:खद भएको दस्तावेजमा लेखेका छन्

‘तीनवटा क्षेत्रमा संसदका तीनवटा सीटमा उपचुनाव हुँदा हाम्रो पार्टीले आफ्ना उमेदवार सम्म उठाउन सकेन । हाम्रो पार्टी नीरीह देखियो । युवा विद्यार्थी संगठन पनि छन् तर निस्कृय र दिशाहीन छन् । आम कार्यकर्ताहरूमा निरासा, हतासा, पदलोलुपता र पलायनका प्रवृतिहरु विकास भइरहेका छन्’, दस्तावेजमा भनिएको छ, ‘हाम्रो पार्टी यतिवेला माथि रावणको टाउको जस्तो र तल सुक्दै झिनु भएर उभिन पनि गार्‍हो पर्ने अवस्थामा भएको महसुस हुन्छ । त्रिपाई स्तो माथि फुकेको तल सुकेको पार्टी संगठन छ । हुनुपर्ने ठीक उल्टो हो ।’

उनले संसदीय भूमिकामा पनि पार्टी कमजोर भएको भन्दै अधिकांश सांसदहरूले बोलेकै नसुनेको उल्लेख गरेका छन् । उनले आफ्नो पार्टी र विद्रोह गरिएको पार्टी (एमाले) का सैद्धान्तिक र नीतिगत सवालमा भिन्नता अझै देखाउन नसकेको बताएका छन् ।

विगत दुई वर्षको अनुभवहरूको निर्मम ढङ्गले समीक्षा गरेर गलत दृष्टिकोण नीति र अडानबाट पार्टीलाई मुक्त गराउनुपर्ने भन्दै सही वैचारिक-राजनीतिक कार्यदिशा, नीति, सिद्धान्त, लक्ष्य, क्रान्तिकारी कार्यशैली, कार्य पद्धति र विधि विधानका आधारमा पार्टीको महाअधिवेशन यथाशीघ्र गर्नुपर्नेमा उनको जोड छ ।

‘संयुक्त मोर्चा वर्गीय होस् वा राजनीतिक सबै अवस्थामा क्रान्तिको प्रधान शत्रुका विरुद्ध बन्ने गर्छ र बनाउनुपर्छ । प्रधान शत्रु वा प्रधान प्रतिद्वन्द्वी किटान नगरी बनाइने मोर्चा कुइरोको कागजस्तै हुन्छ’, उनको दस्तावेजमा भनिएको छ, ‘वर्गीय संयुक्त मोर्चा सधैँ भरि प्रधान वर्गीय शत्रुका विरुद्ध संगठित हुन्छ । त्यसलाई निरन्तर विकास र विस्तार गर्दै लगिन्छ ।’

राजनीतिक संयुक्त मोर्चा प्रधान राजनीतिक शत्रु वा प्रमुख प्रतिद्वन्द्वी विरोध हुने उल्लेख गर्दै संयुक्त मोर्चा निर्माण गर्नुअघि प्रष्ट हुनुपर्ने खनालले लेखेका छन् ।

‘केही समयअघि घोषणा गरिएको समाजवादी मोर्चालाई पनि यही दृष्टिकोण, नीति र अडानका आधारमा हेर्नुपर्छ र तदअनुरुप रुपान्तरण गर्न कोसिस गर्नुपर्छ । संयुक्त मोर्चा भित्र विभिन्न घटकबीच लिइने स्वतन्त्रता, पहलकदमी र साझा सवालमा संयुक्त संघर्षका बारेमा अझ गहिरो गरी छलफल गर्नुपर्ने त छँदैछ ।’

विद्रोह भएको २ वर्ष पुग्दा पनि पार्टीव्यापीरूपमा विद्रोहको औचित्य साबिन भएन भन्ने असन्तुष्टि रहिरहेको उनको भनाइ छ ।

दक्षिणपन्थीहरूको पिछुवा बन्ने र उनीहरूमाथि भरोसा गर्ने गलत कार्यनीतिको पार्टी यस चरणमा पनि शिकार हुन पुगेकाले पार्टीको जनमत झन् खुम्चिन पुगेको खनालको निष्कर्ष छ ।

यस्तै, उनले विगतमा नागरिकता वितरणमा भएका अनियमितताको छानबिन गर्न र गैरनागरिकको नागरिकता रद्द गर्न एउटा उच्च स्तरको शक्तिशाली छानबिन समिति बनाउन माग गरेका छन् । रेशम चौधरीलाई माफी दिएकोप्रति पनि उनको असन्तुष्टि छ ।

‘राष्ट्रपतिले माफी दिने प्रावधान संविधानमा छ । तर, त्यस्ता प्रावधानलाई बडो विवेकपूर्ण ढङ्गले प्रयोग गर्नुपर्ने हुन्छ । तर, वर्तमान सरकारले त्यस्ता व्यक्तिलाई माफी दिएको छ । जसले गरेका क्रियाकलापका आधारमा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतले एउटै स्वरमा सजाय तोकेका, त्यो पनि भर्खरै फैसला गरेका व्यक्तिलाई आममाफी दिन पुगेको छ । त्यसले मुलुकको न्यायिक प्रणालीमाथि नै गंभिर प्रश्नहरू उठाएको छ’, झलनाथको धारणा छ ।

उनले अमेरिकी सहयोग परियोजना एमसीसी स्वीकार गर्नु राष्ट्रलाई दूरगामी रूपले प्रभाव पार्ने गल्ती भएको उल्लेख गरेका छन् । नेता खनाल सुरुआतदेखि नै एमसीसीको विपक्षमा उभिएका थिए ।

Comments

2 responses to “झलनाथको दस्तावेज चिरफार- दक्षिणपन्थी कांग्रेसको पिछलग्गु बन्यौं, वामपन्थी एमालेलाई शत्रु शक्ति ठान्यौं”

  1. भीम काेईराला Avatar

    पार्टी फुटाएर रमाएका कमरेडका अनावश्यक गनथन।

  2. Dhruba Prasad Thapaliya Avatar
    Dhruba Prasad Thapaliya

    फोहर गरी सकेपछि दैलो देख्दैछन् बरिष्ठ कमरेड।

Leave a Reply

Your email address will not be published. Required fields are marked *