नेपालको अर्को ‘कालापानी’ : जहाँ भइरहन्छ भारतीय हस्तक्षेप

कैलाली । कञ्चनपुरको पुनर्वास नगरपालिका–९, बीचफाँटास्थित नेपाली भूमिमा पर्ने प्यारा ताल केही वर्षयता भारतले दाबी गर्न थालेको छ ।सीमा स्तम्भ नम्बर १९४–१९५ बिचमा यो ताल पर्छ । तर, भारतीय पक्षले उक्त सीमा पिल्लर भन्दा वारिको करिब ५० बिघा क्षेत्र समेत आफ्नो भएको दाबी गरिरहेको छ ।

भारतको दुधुवा नेसनलपार्कका जनावरलाई पानीको व्यवस्थापनमा सहज हुने भएकाले दुधुवासँगै जोडिएको ताललाई भारतले आफ्नो दाबी गर्न थालेको बीचफाँटाका प्रेम प्रसाद जैशीले बताए ।

‘४०–४५ वर्षअघिदेखि यो ताल नेपालको एकलौटी रहेको मलाई सम्झना छ । जिल्ला विकासले माछा पालनको ठेक्का लगाउँथ्यो,’ जैशीले भने, ‘०६०/०६१ देखि भने भारतले आफ्नो दाबी गर्न थालेको हो ।’

स्थानीय रामप्रसाद जैशीलाई पनि प्यारा तालमा तत्कालीन जिल्ला विकास समितिले एक पक्षीय ठेक्का लगाएको अहिले पनि सम्झना छ । उनी भन्छन्, ‘०२८ सालदेखि यहाँ बस्दै आएको छौ । ०४१/०४२ सालसम्म माछा मार्नका लागि उक्त तालमा कञ्चनपुर जिल्ला विकास समितिले ठेक्का दिँदै आएको थियो । त्यसको केही वर्षपछि नेपाल–भारतको दोहोरो ठेक्का पनि थियो ।’

पाँच किलोमिटर लम्बाई र ६० मिटर चौडाइ भएको उक्त तालमाथि झन्डै दुई दशकदेखि नै भारतले दाबी गर्दै आएको छ । पुनर्वास नगरपालिका वडा नं ९ का वडाध्यक्ष नरबहादुर विकले प्यारा ताल सहित नेपाली नागरिक सँग लालपुर्जा भएको जग्गा समेतमा भारतले दाबी गर्ने गरेको बताए।

उनका अनुसार सशस्त्र द्वन्द्वका क्रममा सीमा क्षेत्रमा निगरानी नहुँदा प्यारा तालमाथि भारतले कब्जा जमाएको हो । उनी भन्छन्, ‘२०६१÷०६२ मा संयुक्त सीमा सर्भे टोली खटिएको थियो । सोही टोलीले गरेको लापरबाहीका कारण प्यारा ताल भारतको कब्जामा पुगेको हो ।’

त्यो बेला भारतको पलियामा बसेर नेपालको नक्सा गरेर पिल्लर गाडेको उनको भनाइ छ ।पछि स्थानीय सबैले उक्त पिल्लर तोडफोड गरेका थिए ।

पुर्नवास नगरपालिकाले अहिले पनि प्यारा तालमा माछा पालनको ठेक्का दिने गरेको छ। तर, तालमा माछा मार्दा भारतीय पक्षले पटक–पटक अवरोध गर्ने गरेको पुर्नवास नगरपालिका प्रमुख तोय प्रसाद शर्माले बताए ।

स्थानीयका अनुसार भारतीय पक्षले अहिले तालमा मात्रै होइन त्यस यताको सयौँ बिघा नेपाली भूमिमा पनि दाबी गरेको छ ।

‘यहाँका किसानले लगाएको बाली भित्र्याउन पाउँदैनन्’ स्थानीय दलबहादुर जिसीले भने ‘नेपालीले २०२८ साल देखी भोग चलन गर्दै आइरहेको जग्गामा पनि भारतीय पक्षले दाबी गरिरहेको छ ।’

केही वर्ष पहिले जङ्गली जनावर रोक्न स्थानीय सरकारले सीमामा तरबार गर्न खोजेका थिए तर, नेपाली भूमिमै तरबार गर्न खोज्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गर्‍यो ।

फाइल तस्बिर

स्थानीय महिलाहरू भारतीय सीमा सुरक्षा बल (एसएसबी)बाट सबै भन्दा बढी त्रसित छन् । बेला बेलामा बर्दसहित नेपाली भूमिमा आएर धम्की दिने गरेको स्थानीय अमृता सुनारले बताइन् ।

‘कहिले काई बन्दुक र बर्दी सहित आएर हामीलाई धम्की दिन्छन् ’ उनले भनिन् ‘हामीलाई हेपेर पटक पटक धम्की दिन यहि आउँछन् ।’ आफ्नो जग्गामा खेती गर्न समेत नदिने गरेको उनले गुनासो पोखिन् ।

कञ्चनपुरको दक्षिण क्षेत्रमाको सीमा विवाद नौलो होइन । यहाँ सीमा समस्याका कारण प्रत्येक वर्ष ठुलो विवाद हुने गरेको छ ।

२०७३ फागुन २७ गते आनन्द बजारनजिक कल्भर्ट निर्माणमा विवाद हुँदा एसएसबीले गोली हानेर नेपाली नागरिक गोविन्द गौतमको हत्या गरेका थिए । उक्त घटनाको ७ वर्ष पुग्नै लाग्दा पनि यहाँको सीमा विवाद सुल्झिएको छैन ।

फाइल तस्बिर

पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्यारा तालको विषयमा संघीय सरकारबाटै समस्याको समाधान गरिनु पर्ने बताएका छन् ।

आइतबार नेपाली भूमिका रहेको तर, भारतले कब्जाको प्रयास गरिरहेको प्यारा तालको निरीक्षण गर्दै ज्ञवालीले नेपाली भूमिमा भारतीय हस्तक्षेप क्षम्य नहुने बताएका हुन् ।

‘हामी अर्काको एक इन्च पनि चाहन्नौँ तर, हाम्रो एक इन्च भूमि पनि गुम्न दिन्नौँ ’ एमालेका उपमहासचिव समेत रहेका ज्ञवालीले भने,‘नेपाली भूमिमा रहेको प्यारा ताल नेपालको हो यसमा भारतले हस्तक्षेप गर्न पाउँदैन ।’

पछिल्लो समय देखिएका सीमा विवाद दुई देशका उच्च अधिकारीहरू बसेर सुल्झाउनु पर्नेमा ज्ञवालीको जोड थियो । उनले असल छिमेकीले अर्को छिमेकीको जग्गा कब्जा नगर्ने भन्दै भारतलाई त्यस्तो नगर्न सुझाव दिएका थिए ।

‘केहि समस्या भए दुई देशमा उच्च अधिकारीहरू बसेर सुल्झाउनु पर्छ तब सम्म पूर्ववत् अवस्थामै रहनु पर्छ ’ उनले भने ‘भारत हाम्रो असल छिमेकी हो भने नेपाली भूमि कब्जा गर्ने नीति छोड्नु पर्छ ।’

प्यारा तालको अवलोकन पछि पूर्व परराष्ट्र मन्त्री ज्ञवालीले सीमा रक्षाका निम्ति ज्यान गुमाएका गोविन्द गौतमको घरमा समेत पुगेका थिए ।

घर नजिकै रहेको गौतमको सालिकमा माल्यार्पण गर्दै उनले भारतीय हस्तक्षेप विरुद्ध आफ्नो पार्टीले डटेर साना गर्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *