कसरी बिग्रियो माल्भिका सुब्बाको घरबार ? भक्कानिँदै प्रियंकालाई सुनाइन् डिभोर्सदेखि डिप्रेसनसम्मको अन्तरकथा

काठमाडौं । पूर्वमिस नेपाल माल्भिका सुब्बा टेलिभिजनमा ‘जीवनसाथी’ कार्यक्रम चलाउँछिन्, जसमा सफल दाम्पत्य सम्बन्धमा रहेका जोडीहरुलाई ल्याएर उनीहरुको प्रेम र रोमान्सका कुराहरु खोतल्छिन् । तर, माल्भिकाको आफ्नै दाम्पत्य जीवनको अनुभव भने मीठो छैन ।

आफ्नो निजी जीवनका विषयमा अहिलेसम्म माल्भिकाले सार्वजनिक रुपमा बोलेकी थिइनन् । श्रीमानसँगको डिभोर्सलाई पनि उनले मिडियाबाट लुकाएर राखेकी थिइन् । तर, हालै नायिका प्रियंका कार्कीसँगको एक अन्तर्वार्तामा उनले आफ्नो वैवाहिक जीवन कसरी असफल भयो भन्ने विवरण सुनाएकी छन् । अन्तर्वार्तामा उनी पटक पटक भावविह्वल भएकी थिइन् ।

प्रियंकाले आफ्नै युट्युब च्यानलमा सञ्चालन गरिरहेको कार्यक्रम ‘फोर्थ ट्राइमेस्टर’ मा माल्भिकालाई गेस्ट बनाएकी हुन् । एकदमै मिल्ने साथी भएकाले पनि उनीसँग खुल्न माल्भिकालाई सजिलो भयो । उनले आफ्नो प्रिग्नेन्सीदेखि डिभोर्ससम्मका कुराहरु पहिलोपटक सार्वजनिक गरिन् ।

माल्भिकाले ३ वर्षको प्रेम सम्बन्धपछि रियाज श्रेष्ठसँग २०६९ सालमा विवाह गरेकी थिइन् । विवाहको केही समयसम्म ठीकठाक चले तापनि आफू गर्भवती भएदेखि सम्बन्धमा दरार सुरु हुन थालेको माल्भिकाको भनाइ छ । गर्भावस्थामा आफूले श्रीमानबाट पर्याप्त साथ नपाएको उनले बताएकी छन् । सम्बन्ध बिग्रिन थाल्नुको कारण भने उनले खुलाइनन् ।

‘प्रेग्नेन्सीपछि केही इस्युहरु सुरु भयो । श्रीमानका रुपमा मैले धेरै कुरामा सपोर्ट पाइनँ । मैले सोचेको कुराहरू गर्न पाइनँ’, उनले भनिन् ।

माल्भिका र रियाजको अन्तरजातीय विवाह थियो । दुई परिवारको संस्कृति र परम्परामा धेरै फरक भएकाले पनि समस्या उब्जिएको माल्भिका बताउँछिन् । आफूले छोराको न्वारन साधारण तरिकाले गर्न चाहे पनि श्रीमान र परिवारको दबाबले उनीहरुकै रीतिरिवाजअनुसार गर्नुपरेको उनको भनाइ छ ।

‘म उहाँको परिवारलाई धेरै सम्मान गर्छु । सासूससुराले मेरो छोरा हुर्काउन एकदमै सपोर्ट पनि गर्नुभएको छ । तर, हामीबीच सांस्कृतिक र वैचारिक भिन्नता धेरै थियो । त्यसैले एडजस्ट हुन गाह्रो भयो’, उनले भनिन् ।

श्रीमानसँग सम्बन्ध बिग्रिएपछि आफूले एक्लै छोरा हुर्काउनुपरेको माल्भिकाले सुनाइन् ।

उनले भनिन्, ‘पहिलो ६ महिना निकै सकस भयो । ४ महिनासम्म त मैले १६ घन्टा नसुतिकन एक्लै बच्चा हेरें । पहिलो ३ वर्ष उसले राम्रोसँग मसित कम्युनिकेट गर्दैनथ्यो । जहिले पनि झगडा पर्थ्यो ।’

छोरा २ वर्षको भएपछि आफूले श्रीमानको घर छाडेको उनले बताइन् । यो उनको एकल निर्णय थियो ।

‘असाध्यै सफोकेसन भएपछि म घर छोडेर हिँडें । मेरो त्यो निर्णयमा माइती परिवार पनि सहमत हुनुहुन्थेन । ३-४ वर्षसम्म मैले एक्लै संघर्ष गरेर छोरालाई हुर्काएँ’, उनले भनिन् ।

भावविह्वल हुँदै माल्भिकाले भनिन्, ‘त्यसबेला मलाई २-३ जना साथीहरुबाहेक कसैको सपोर्ट थिएन । परिवारले पनि मलाई बुझेन । बाँच्न पनि मन लाग्दैनथ्यो । आत्महत्याको सोच आइराख्थ्यो । तर, छोराको लागि जसरी पनि बाँच्नुपर्छ भन्ने ठानें । वास्तवमा भन्नुपर्दा म छोराकै कारण आज जीवित छु ।’

आफूले पहिल्यैबाट केही रकम बचत गरेकाले एक्लै बाँच्न सम्भव भएको उनले बताइन् ।

‘मैले घर छोडेर अञ्जान ठाउँमा जसोतसो सेटअप गरें । निकै गाह्रो भएको थियो सबै एक्लैले म्यानेज गर्न । (भक्कानिँदै) एकजना साथीले राइसकुकर ल्याइदियो, अर्को साथीले प्लेटहरु ल्याइदियो । मैले सेकेन्ड ह्यान्ड फर्निचर किनें । किनकि नयाँ किन्ने क्षमता थिएन’, माल्भिकाले सुनाइन्, ‘श्रीमानको घर नजिकै डेरा लिएर बसेकी थिएँ । छोरालाई बुवा र उनको परिवार भेट्न सहजै होस् भनेर नजिकै बसेको हो । स्कुलबाट घर ल्याउँदा उसको घर भएर गुज्रिनुपर्थ्यो । त्यतिबेला सधैं घर जाने भनेर रुन्थ्यो । कहिलेकाहीं मैले गल्ती त गरिनँ भने जस्तो पनि लाग्थ्यो । राति सुत्दा सोच्थें, मेरो लाइफ कस्तो हुनुपर्ने, कस्तो भयो । तर, फेरि आफूलाई बलियो बनाउँथें ।’

‘म टेलिभिजनमा ‘जीवनसाथी’ भने गरिरहेको थिएँ । टेलिभिजनको पर्दामा पीडा लुकाउनुपर्थ्यो । मुस्कुराएर अतिथिलाई स्वागत गर्नुपर्थ्यो । अरु दम्पतीको कथा सुन्थें । उनीहरुको रोमान्टिक कुराहरु खोतल्थें । तर, आफ्नो विवाह बिग्रिएको थियो । कमेन्टमा कतिपयले लेखेको पनि देख्थें- आफ्नै सम्बन्ध टिकाउन नसक्नेले जीवनसाथी चलाएको भनेर । यस्ता कमेन्टहरुले पनि मानसिक रुपमा म विक्षिप्त हुँदै थिएँ । मलाई पोस्र्टमार्टम डिप्रेसन नै भयो ।’

चार वर्षसम्म अलग बसेपछि माल्भिकाले औपचारिक डिभोर्स गर्ने निर्णय लिइन् । उनीहरुले दुई वर्षअघि डिभोर्स गरेका हुन् । छोरालाई दुवैले ‘को प्यारेन्टिङ’ गरेर हुर्काइरहेका छन् । श्रीमानसँग सम्पत्ति केही पनि नलिएको माल्भिकाले बताइन् ।

डिभोर्सपछि आफूलाई रित्तो महसुस भएको माल्भिकाको अनुभूति छ ।

‘मैले सोचिविचारी निर्णय लिएको हो । तर, डिभोर्सपछि आफूलाई एक्लो फिल चाहिँ भयो । आई फेल्ट सो इम्पटी । त्यसबेला पनि सुसाइडल थट नआएको होइन’, उनले सुनाइन् ।

गत वर्ष माल्भिका एउटा कन्ट्रोभर्सीमा परेकी थिइन्, जतिबेला उनी आफैं निकै डिप्रेस्ड अवस्थामा थिइन् । सन् २०१४ मा भएको एउटा सौन्दर्य प्रतियोगिताकी एक प्रतियोगीले आफूमाथि यौन हिंसा भएको र त्यसबेला माल्भिकाले पनि साथ नदिएको बयान दिएपछि माल्भिकालाई सामाजिक सञ्जालमा गालीगलौज भएको थियो ।

‘भर्खरै डिभोर्स भएको हुनाले म आफैं एउटा खराब मानसिक अवस्थाबाट गुज्रिरहेको थिएँ । त्यसमाथि त्यो कन्ट्रोभर्सी थपियो । त्यसले गर्दा नै मैले आफ्नो निजी जीवनको कुरा बाहिर ल्याउनु परेको हो’, उनले भनिन् ।

अहिलेको अवस्थामा आउन आफूलाई चार वर्ष लागेको उनले बताइन् । अहिले भने पूर्वश्रीमानसँग मिलेर ‘को प्यारेन्टिङ’ गरिरहेको माल्भिकाको भनाइ छ ।

Comments

4 responses to “कसरी बिग्रियो माल्भिका सुब्बाको घरबार ? भक्कानिँदै प्रियंकालाई सुनाइन् डिभोर्सदेखि डिप्रेसनसम्मको अन्तरकथा”

  1. Biahnu Kumar Limbu Avatar
    Biahnu Kumar Limbu

    अन्तर्जातिय विवाह पुर्वार्द्धमा मिठास भएता पनि उत्तरार्धमा खटासपुर्ण नै देखेको छु।

  2. राम सुब्बा Avatar

    यस्तै हुन्छ अन्तरजातीय बिहे गरेकाेमा । स्वजतिया बिहे गरेकाे हुन्थियाे भने माईतिकाे पनि फुल सपाेर्ट हुन्थियाे के गर्नु आफुखुसी गरेपछि माईतिकाे सम्मान ईज्जत फालेपछि 😂😂😂

  3. Supriya Avatar
    Supriya

    Intercaste bihe garda safal hudeina vanne haina tara yaha ta aafnei caste vitra bihe garda chai divorce navayeko, jhagada navayeko ani sabei soch sadhei mileko hudeina.

    1. Saamyok hang Rai Avatar
      Saamyok hang Rai

      Intercoast bihe garnu lai maitiko saman ijaat phaileko bhanidoina bujhnu bhayo aphnai cast sanga bihe garera asaphal dampatya jiban bhayeko xoinara

Leave a Reply

Your email address will not be published. Required fields are marked *