काठमाडौं । नेपालमा अहिले पनि सबैभन्दा राम्रो क्यान्सरको उपचार हुने अस्पताल भरतपुर क्यान्सर अस्पतालमा प्रधानमन्त्री प्रचण्डको परिवारका सदस्यको टकरावले अस्तव्यस्त बन्न पुगेको छ ।
माओवादी अध्यक्ष प्रचण्डले चितवनलाई निर्वाचन क्षेत्र बनाएपछि नै माओवादीबाट कुनै न कुनै तरिकाबाट भरतपुर क्यान्सर अस्पतालमा समस्या उत्पन्न भएको आरोप छ ।
त्यसमाथि भरतपुर क्यान्सर अस्पतालमा भरतपुर महानगरपालिकाका मेयर पदेन सदस्य रहने भएकाले पनि मेयर रेणु दाहालको चासो रहनु स्वाभाविक हो । तर, क्यान्सर अस्पताललमा प्रचण्डका भाइ नाता पर्ने राष्ट्रियसभा सदस्य नारायण दाहालको लामो समयदेखिको चलखेलका कारण भरतपुर क्यान्सर अस्पतालमा समस्या उत्पन्न भएको छ ।
हाल भरतपुर क्यान्सर अस्पतालमा कार्यकारी निर्देशकको दौडमा नेपाली कांग्रेसका तर्फबाट डा. शिवजी पौडेल, माओवादी केन्द्रबाट डा. कृष्ण सागर शर्मा दौडमा छन् भने दुवै पार्टीलाई मिलाउनसक्ने भन्दै पूर्वकार्यकारी निर्देशक डा. विजय आचार्य लागि परेका छन् ।
डा. आचार्यको शक्तिको स्रोत बनेका नारायण दाहालले बाहिरै डिल गर्न थालेपछि माओवादीनिकट चिकित्सकहरू आक्रोशित बनेका छन् । रेणुलाई बाइपास गरेर नारायणले प्रधानमन्त्रीको नाममा डील गरेको आरोप छ ।
भरतपुर क्यान्सर अस्पतालमा प्रधानमन्त्री पुत्री रेणु दाहाल र भाइ नारायण दाहालको चलखेल रोचक छ । प्रचण्ड प्रधानमन्त्री हुँदा नारायण दाहाल उनका प्रशासनिक सल्लाहकार थिए । कांग्रेससँगको गठबन्धन सरकारका स्वास्थ्यमन्त्री थिए गगन थापा ।
यो पनि पढ्नुस् : वीपी क्यान्सर अस्पतालको कार्यकारी निर्देशक बनाउन ‘प्रधानमन्त्रीका भाइ’ को अस्वाभाविक चलखेल
स्वास्थ्यमन्त्री थापाले उनीनिकट अनिलविक्रम कार्कीलाई कार्यकारी निर्देशक नियुक्त गर्न चाहन्थे । तर, प्रधानमन्त्री कार्यालय र चितवनको आफ्नो निर्वाचन क्षेत्र भन्दै प्रभावमा पार्न सफल नारायण दाहालले डा. आचार्यलाई कार्यकारी निर्देशक बनाउन सफल भएका थिए ।
यो कार्यकालमा दाहालले आर्थिक कारोबारमा आचार्यलाई राम्रै प्रयोग गर्न सफल भएका थिए । आचार्यको घरजग्गा नै दाहालकोमा नामसारी समेत भएको थियो ।
उनै दाहाल दोस्रो पटक डा. आचार्यलाई नै दोहोर्याउन चाहन्थे । त्यसको लागि तत्कालीन अध्यक्षका उमेदबार हालका अध्यक्ष विजयराज न्यौपानेलाई पाखा लगाउदै निर्मल लामिछानेलाई बनाउन सफल भएका थिए ।
अन्तिम समयसम्म डा. आचार्यलाई कार्यकारी निर्देशक बनाउन दबाब दिएपनि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारका अगाडि केही नलागेपछि ओलीले रोजेका एमालेनिकट डा. देजकुमार गौतम कार्यकारी निर्देशक बनेका थिए ।
यो अवधिमा डा. गौतमको कार्यकाल पर्खन गाह्रो भएकाले दाहालले उनलाई हटाउनका लागि भरतपुर महानगरपालिकाकी मेयर प्रचण्डपुत्री दाहाललाई प्रयोग गरेका थिए । यो अवधिमा पनि क्यान्सर अस्पताललाई दोहन गर्न दाहालकै ऐजेण्टहरू लागि परेको क्यान्सर अस्पतालका कर्मचारीहरू बताउँछन् ।
डा. गौतमको कार्यकालमा क्यान्सर अस्पतालमा प्रवेश बन्द भएपछि छटपटिएका दाहालले फेरि डा. आचार्यलाई बनाउन अथक प्रयास गरिरहेका छन् ।
उसो त भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले अहिले अस्पतालको अध्यक्षमा बिजयराज न्यौपानेलाई बनाउन सिफारिस गरेपछि नारायण दाहाल त्यसलाई रोक्न भरतपुरदेखि बालुवाटार, बूढानीलकण्ठदेखि रामशाहपथसम्म धाएको माओवादीका नेताहरू बताउँछन् ।
तर, रेणुको अडानले अघिल्लो कार्यकालमा भएको पराजयमा जित निकालिन् र न्यौपानेलाई अस्पतालको अध्यक्ष नियुक्त गर्न सफल भइन् । अहिले भने काका भतिजी दुबैको सम्बन्ध सुधार गर्दै पुनः कार्यकारी निर्देशकमा डा. आचार्यलाई लिनका लागि नारायण दाहाल सबै अस्त्र प्रयोग गरेका छन् ।
यद्यपि अझै पनि मेयर रेणु दाहाल सहमतिमै अगाडी बढ्नुपर्ने अडानमा छिन् । त्यसो गर्दा कांग्रेसको आधिकारिक उम्मेदवार र मन्त्री मोहन बस्नेतको रोजाई शिबजी पौडेलमाथि छ । चितवन कांग्रेसले शिबजी पौडेललाई कार्यकारी निर्देशक नगराए अरुलाई सहयोग गर्न नसकिने धम्कीसमेत दिएका छन ।
तर, मन्त्रीलाई नै अगाडि देखाएर डा. आचार्यको नाम प्रस्ताव गर्ने तयारी भएको बुझिएको नवनियुक्त एक बोर्ड सदस्यले मुख खोलेका छन् । यसै कारण चौतर्फी दबाब बढेपछि मेयर रेणु आमाको शोकमा रहेकै बेला नियुक्ति गर्न काठमाडौंमै बैठकको तयारी भएको छ ।
रेणुले सहमति चाहेको र यदि सहमतिमा नभए माओवादीनिकट चिकित्सक संघका पूर्वअध्यक्ष समेत भएकाले डा. कृष्णसागर शर्मालाई कार्यकारी निर्देशक बनाउन रेणु दाहाललाई दबाब छ ।
यसअघिको कार्यकारी निर्देशक भएपछि डा. विजय आचार्यको घर नै नारायण दाहालको नाममा सरेकाले यसपटक ऋण नै तिर्न पनि दाहालको चर्को दबाब रहेको छ । यस्तै अस्पतालमा खरिद प्रकृयामा ठूलो आर्थिक चलखेल हुने भएकाले नारायण दाहालको जोडबल चर्को हुने गरेको एक पूर्वकार्यकारी निर्देशकले नेपाल प्रेसलाई बताए ।
अरु आउँदाभन्दा विजय आचार्य आउँदा खरिदमा आफूनिकटलाई छिराउन सक्ने भएकाले उनको बल नै आचार्यमाथि छ । डा. आचार्यलाई नियुक्ति गरेर लैजाँदा चितवनको राजनीतिक समीकरणमा ठूलो प्रभाव पर्ने भएकाले चितवनका कांग्रेसहरूको दबाब बढेको छ ।
राजनीतिकरूपमा चितवनमा स्थापित रेणु दाहाललाई शिवजी पौडेल नबनाए राजनीतिक सहकार्अयमा अर्को समस्या हुन सक्ने बुझाई छ । चितवनका उनीनिकटका माओवादी नेताहरूले सकेसम्म पार्टीकै चिकित्सक संघका पूर्वअध्यक्ष शर्मालाई बनाउन दबाब दिएका छन । त्यसो नभए कांग्रेसलाई नचिढ्याउन समेत सुझाव दिएका छन् ।
पार्टीबाट डा. शर्मालाई नियुक्त गर्दा क्यान्सर अस्पतालमा चलखेल गर्न नपाइने भएकाले पनि नारायण दाहालले शर्माको नामै लिन नचाहेको माओवादीनिकट नेताहरूको बुझाई छ ।

Leave a Reply