डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाका सेवाग्राहीले योजनाको भुक्तानी लिन प्राविधिकलाई घुस खुवाउनु पर्ने बाध्यता रहेको बताउँछन् ।
पत्रकार चक्रबहादुर कुँवरले संकलन गरेको बहिर्गमन मत (एक्जिट पोल) मा सहभागी सेवाग्राहीले उक्त कुरा खुलाएका छन् । आर्थिक वर्ष २०७९/०८० को अन्तिम चौमासिक सार्वजनिक सुनुवाइको क्रममा नगरपालिकाभित्रका विभिन्न वडाका २९ जनासँग बहिर्गमन मत संकलन गरिएको पत्रकार कुँवरले वताए ।
सार्वजनिक सुनुवाइमा बहिर्गमन मतको प्रतिवेदन प्रस्तुत गर्दै कुँवरले २९ मध्ये चारजना १४ प्रतिशतले पैसा नदिए काम गर्नै गाह्रो हुने बताएका छन् । यस्तै १० जना अर्थात् ३४ प्रतिशतले प्राविधिकहरूलाई पैसा नदिई कामै नहुने जवाफ दिएको उल्लेख छ । बाँकी १५ जनाले भने घुस दिन नपर्ने बताएका छन् ।
के भन्छन् मेयर ?
प्रतिवेदन सार्वजनिकपछि दिपायल सिलगढी नगरपालिकाका मेयर बाजीसिंह खड्काले भ्रष्टाचारीलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाए । मेयर खड्काले पत्रकार कुँवरलाई आरोप लगाउनेहरूको नाम आफूहरूलाई उपलब्ध गराउन अनुरोध गरे ।
खड्काले भने, ‘मलाई विश्वास छ प्राविधिकले यस्तो काम गर्न सक्दैनन्, यदि भ्रष्टाचार गरेको प्रमाणित भएमा २४ घण्टाभित्र कारबाही गर्नेछु । आरोप लगाउनेको नाम दिनुस् गोप्य हुन्छ ।’
प्रमुख प्रशासकीय अधिकृत शंकर सुचीकारले यदि कोहीले घुस लिएको पाइए १२ घण्टाभित्रै कारबाही गर्ने दाबी गरे ।
‘यो गम्भीर विषय हो, छानबिन हुन्छ । मेयर सा’बले २४ घण्टाभित्र कारबाही गर्छु भन्नुभएको छ, तर कोही दोषी भेटिए म १२ घण्टा पनि कुर्ने छैन’, उनले भने ।
सार्वजनिक सुनुवाइमा भ्रष्टाचारीलाई कारबाही हुने सवालमा मेयर र प्रशासकीय अधिकृतले प्रतिबद्धता जनाए पनि कार्यान्वयन हुनेमा सहभागीले आपत्ति जनाएका छन् ।

Leave a Reply