विराटनगर । इटहरीको बजारमा बासी र सडेगलेको मिठाई मासु बिक्री वितरण गर्ने गरेको भेटिएको छ । बासी सडेगलेको मासु बिक्री गने एक पसलमा उपमहानगरले ताला लगाएको छ ।
सोमबार इटहरी उपमहानगरपालिकाले बजार अनुगमनका क्रममा मिठाई पसल तथा मासु पसलहरुको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा बिक्रीका लागि राखिएको मासु दुई तीन दिनदेखि राखेको र गलेको अवस्थामा भेटिएको थियो । बीपी चौकस्थित बत्सु मिट सेन्टरले बासी र गलेको मासु बिक्रीका लागि राखिएको थियो । खान अयोग्य भेटिएपछि उपमहानगरले सो पसलमा ताला लगाई दिएको छ ।
यस्तै, इटहरीका केही मिठाई पसलमा अखाद्य वस्तु भेटिएको छ । बिक्रीका लागि राखेका मिठाई तथा अन्य खाद्यवस्तुमा झिँगा भन्कीएको, किरा परेको भेटिएको थियो । इटहरीको मुख्य बजारमै सञ्चालनमा रहेको नटराज मिठाई पसलमा म्याद गुज्रिएका खानेकुरा भेटिएको थियो ।
मेयर हेमकर्ण पौडेलसहित पुगेको अनुगमन टोलीले सामानको म्याद हेर्न थालेपछि पसलका सञ्चालकले हतार हतार म्याद गुज्रिएको सामान मिल्काएका थिए । मेयर पौडेलकै अगाडी म्याद गुज्रिएको सामान फालेका सञ्चालकले पछि माफी मागेका थिए । उनको पसल माथी कानूनी कारबाही अगाडि बढाइने जनाइएको छ ।
अनुगमन टोलीले इटहरीका विष्णु मिष्ठान्न भण्डार, नटराज मिठाई पसल, हिरा होटल, सगुन स्वीट्स, बालाजी मिठाई पसल लगायतका मिठाई पसलको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा अधिकांश मिठाई पसलमा भान्छा सफा नभएको, म्याद गुज्रिएका खाद्यान्न विक्रीका लागि राखिएको, सरसफाई राम्रोसँग नभएको जस्ता कैफियत भेटिएको थियो ।
बासी र सडेगलेका सामग्री बिक्रीका लागि राखेको, झिँगा र कीरा परेका खाद्यपदार्थ बिक्रीका लागि राखेको पाइएपछि ती नष्ट गरी कानूनी कारबाही अगाडि बढाइएको नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।
बजार अनुगमन चाडपर्व केन्द्रित मात्र हुने गरेको गुनासो बढेपछी अनुगमनलाई नियमित रुपमा निरन्तरता दिएको नगरप्रमुख पौडेलले बताएका छन् ।


Leave a Reply