सुर्खेत । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विकास निर्माणका काममा राजनीतिक दलहरुबीच सहकार्य आवश्यक रहेको बताएका छन् । उनले राजनीति गर्नेहरुलाई जनता, मतदाता र भावी पुस्तासँग डर हुनुपर्ने बताए ।
‘चुनावका बेला हामीले मतदाता र आमजनतासँग विभिन्न प्रतिबद्धता जनाएका हुन्छौं, ती प्रतिबद्धता पूरा गर्नु राजनीति गर्नेहरुको प्रतिबद्धता हो’, आइतबार सुर्खेत क्षेत्र नं १ मा भएका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपप्रधानमन्त्री खड्काले भने, ‘विकास निर्माण जनताको नासो र सम्पत्ति हो, यी काम गर्दा राजनीतिक दलहरु र राजनीतिकर्मीबीच सहकार्य र समन्वय हुन आवश्यक छ ।’
भेरीगंगा नगरपालिका- ८ मा लालपुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काले भूमि आयोगमार्फत जग्गाधनी प्रमाणपुर्जा वितरणको काम भइरहेको बताए ।
‘सरकारको लक्ष्य कोही पनि नागरिक भूमिविहीन भएर बस्नु नपरोस् भन्ने छ’, उनले भने, ‘आयोगमार्फत जतिसक्दो चाँडो लालपुर्जा वितरणको काम सम्पन्न गर्ने गरेर तीन तहकै सरकार लागिरहेका छौं ।’
उपप्रधानमन्त्री खड्काले विगतमा विभिन्न आयोगहरुले काम गरेर पनि जग्गाधनीले लालपुर्जा नपाएका, श्रेस्ता कायम हुन नपाएका, अधुरा कामहरु पूरा गरेर सुर्खेतमा पहिलो चरणमा लालपुर्जा वितरणको काम भइरहेको बताए ।
‘एक-डेढ वर्षमा सबै काम सम्पन्न गरेर यस्ता पुर्जाहरु वितरण गरेपछि दोस्रो चरणमा नयाँ जग्गाको नापी र श्रेस्ता दिने काम सुरु हुन्छ’, उनले भने, ‘कोही पनि नेपाली नागरिक भूमिहीन भएर बस्नुपर्ने अवस्था हुँदैन ।’
भूमि आयोगले सुर्खेतमा हालसम्म साढे आठ सय जग्गाधनी पुर्जा बनाएर वितरण गरेको छ । उपप्रधानमन्त्री खड्काले कोटमाझखर्कअन्तर्गत जग्गाधनी पुर्जा वितरण चुनौतीपूर्ण रहे पनि केही कानूनी अड्चनलाई पूरा गरेर सहज तरिकाले पुर्जा वितरणको काम सुरु गरिएको बताए ।
उनले भूमि आयोगलाई काम गर्न केही व्यवहारिक समस्या रहेको बताउँदै ती समस्याहरु समाधान गर्नेतर्फ आफू केन्द्रित हुने बताए । उनले लालपुर्जाको तयारी र वितरणको कामलाई अझै तीब्र गतिमा अघि बढाउन निर्देशनसमेत दिएका छन ।
आजै उपप्रधानमन्त्री खड्काले भेरीगंगा नगरपालिका- १० को आँपधारा खानेपानी आयोजनाको उद्घाटन गर्दै घरमा स्वच्छ खानेपानी पु¥याउने सरकारको लक्ष्य रहेको जानकारी दिए ।
‘थुप्रै खानेपानी आयोजनाहरु सुरु भएका छन्, केही सम्पन्न हुँदैछन्’, उनले भने, ‘नागरिकहरुलाई स्वच्छ खानेपानी घरघरमा पुर्याउने प्रतिबद्धतालाई क्रमैसँग पूरा गर्दै जानेछौं ।’
उनले कर्णालीमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागिरहेको बताउँदै कर्णालीलाई खेलमय बनाउने गरेर संघ, प्रदेश र स्थानीय तह लाग्नुपर्ने बताए ।
राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णालीको खेलकुद विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

Leave a Reply