एमालेले विकल्प दिएर मात्र प्रधानमन्त्रीको राजीनामा माग्नुपर्छ: मुकुल ढकाल (भिडिओ)

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाएपनि आफ्नो पार्टी प्रतिपक्षमा बस्ने जनाएका छन् । अहिलेको जनादेशले त्यही दिएको बताउँदै उनले अहिलेसम्म पार्टीको निर्णय यही भएको प्रष्ट पारेका हुन् ।

आजबाट रुपन्देहीको भैरहवामा सुरु भएको पार्टीको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन आएका नेता ढकालले भने–‘वास्तवमा जनादेश पनि यहि हो, र ८४ को चुनावका लागि यसरी तयार हुने ग्राउन्ड नयाँ र पुरानो दुवैलाई उपयुक्त हुन्छ ।’

एक पक्षले एमाले कांग्रेस मिलेर सरकार बनाउन चाहेपनि तत्काल त्यो संभव नदेखिएको उनले बताए । लडाकु शिविरमा भएको भ्रष्टाचार प्रकरण बाहिर आउने त्रासले जुनसुकै तरिकाले माओवादी सरकारबाट बाहिर बस्न नचाहेको उनको विश्लेषण छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बनाउन अर्कै देशका मान्छे पटक पटक दिल्ली धाएको आफै बताउनु गम्भीर विषय भएको बताउँदै प्रधानमन्त्रीको पदमा बसेर राष्ट्रिय हित विपरीत बोलेकाले यसको मूल्य धेरै महंगो पर्ने बताए । ‘एमालेले राजीनामा मागिरहेको छ, संविधानको मर्म अनुसार राजीनामा पनि विकल्प दिएर जानपर्नसक्छ ।

एमालेले काङ्ग्रेसलाई सहयोग गरेर सरकार बनाओस् तर लडाकु शिविर प्रकरणका कारण माओवादीसँग प्रतिपक्षमा बस्ने हिम्मत छैन, उसले सरकार छोड्न सक्दैन । काङ्ग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउन्, रास्वपा प्रतिपक्षमा बस्छ’ उनले भने ।

Comments

One response to “एमालेले विकल्प दिएर मात्र प्रधानमन्त्रीको राजीनामा माग्नुपर्छ: मुकुल ढकाल (भिडिओ)”

  1. Khemmprasad nepal Avatar
    Khemmprasad nepal

    यही बुद्दी सरकारमा जानु अघि आएको भए के हुन्थ्यो ? के रास्वपाले गृह मन्त्रालय पाइ रहेको भए सरकारबाट बाहिरिन्थ्यो होला ? हो प्रचण्डमा सत्ताको मोह देखिएकै हो । सम्भब भए सम्म सत्तामा बस्ने लालच सबैमा देखिएको कुरा तथ्यले प्रमाणित नै गरिसकेको छ । कुरा आयो क्यान्टोनमेन्ट घोटला काण्डको ,त्यसमा ,तत्कालिन प्रम , अर्थमन्त्री , राजनीतिक दलका शिर्ष नेता एब unmin जस्ता संस्थाहरू लडाकू प्रमाणिकरण गरिएको कुरा सत्य हो । एउटा नया र आसलाग्दो दलको महामन्त्री जस्तो जिम्मेवार ब्यक्तिले सार कुरा नबुझी हावाको तालमा स्टन्टको खेति गरिरहनु लज्जास्पद भएन र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *