नेपाल पक्षीय भेलामा सहभागी नेताको एकस्वर– ओली सच्चिए हामी पनि सच्चिन्छौं, पार्टी एकता जोगाउनु पर्छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले) माधव नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले कार्यशैली सुधार गरे पार्टी एकता कायम रहने बताएका छन् ।

ललितपुरको सानेपामा राष्ट्रिय भेला सहभागी नेताहरुले अध्यक्ष ओलीले गुटगत मानसिकता त्यागेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका हुन् । उक्त समूहका नेता भीम आचार्यले पार्टी संस्थापन पक्षले गरेको गुटबन्दी र विभाजनकारी गतिविधिको विरोधमा पार्टीलाई मजबुद बनाउने उदेश्यका साथ राष्ट्रिय भेला गरिएको बताए । भेलाले कम्युनिष्ट आन्दोलन कमजोर हुन नदिन अध्यक्ष ओलीलगायत आमनेता, कार्यकर्तालाई आह्वान गर्ने उनको भनाइ छ । वामपन्थी आन्दोलनलाई एकिकृत गर्ने कुरामा आफुहरुको जोड रहेको पनि उनले बताए ।

नेता झपट रावलले पार्टी नेतृत्वले स्वेच्छाचारी गतिविधि सच्याउनुपर्ने बताए । नेतृत्वले अझै अरु गल्ती गर्ने सम्भावना भएकाले दबाबका लागि भेला राखिएको उनको भनाइ छ ।

उक्त समूहका नेता ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीले चैत्र ७ गते आयोजना गरेको केन्द्रीय कमिटी बैठक स्थगित गरेर आफूहरुसहितको अर्को बैठक बोलाउनुपर्नेमा जोड दिए ।

नेतृ समिना हुसेनले अध्यक्ष तथा संसदीय दलका नेता ओलीले गलत नियतका साथ बिहीबारको संसदीय दलको बैठक राखेको बताइन् । उनले एमालेलाई एकताबद्ध बनाउन ओलीको भूमिका हुनुपर्नेमा जोड दिइन् ।

नेता मोहनचन्द्र अधिकारीले केपी शर्मा ओलीले वर्गीय दृष्टिकोण छोडेको आरोप लगाए । ओली गुटपरस्त भएको र एकलौटी निर्णय गर्ने गरेको उनको भनाइ छ । नेता अधिकारीले गुटबन्दी त्यागेर एकताको पहल गरे आफूहरु पनि गल्ती सच्याउन तयार रहेको बताए ।

Comments

One response to “नेपाल पक्षीय भेलामा सहभागी नेताको एकस्वर– ओली सच्चिए हामी पनि सच्चिन्छौं, पार्टी एकता जोगाउनु पर्छ”

  1. Pushker Kadel Avatar
    Pushker Kadel

    पार्टी एकढीक्का बनाउन माझहरू हामी सच्चिन्छौं ओली पनि सच्चिनु पर्छ किन भन्दैनन्?

Leave a Reply

Your email address will not be published. Required fields are marked *