काठमाडौं । केही समय अघि नेपालको अर्थ जगतमा देखिएको एउटा घटना जसले सम्पूर्ण अर्थजगतलाई नै निराशा बनाएको थियो । घटना हो तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीचको टकराव ।
जसका कारण सम्पुर्ण वित्तीय सन्तुलन नै खल्बलिएको आरोप लागेको थियो । यतिसम्म कि नियामकको स्वायतता माथि नै अर्थमन्त्रीले प्रहार गरेको विश्लेषण भएको थियो ।
अहिले ठ्याक्कै त्यस्तै घटना उडान क्षेत्रमा देखिएको छ । पर्यटन मन्त्री सुदन किराँती र उडान क्षेत्रको नियामक नागरिक उड्यन प्राधिकरणका (क्यान) प्रमुख (महानिर्देशक) प्रदिप अधिकारीबीच टकराव ।
गत सोमबार मन्त्री किराँतीले सामाजिक सञ्जालमार्फत महानिर्देशक अधिकारीलाई स्पष्टीकरण सोधेको पत्र सार्वजनिक गरेपछि किराँती र अधिकारीबीचको टकराव छताछुल्ल भयो ।
एउटा पक्ष स्पष्टिकरण सोध्ने, अर्को पक्ष स्पष्टीकरण दिनुको कुनै अर्थ नभएको भन्दै आफ्नो अडानमा रहने क्रम चलिरहेको छ । अधिकारीले यो विषयमा अहिलेसम्म स्पष्टीकरण दिएका छैनन् । मन्त्रीले सात दिनको समय दिएर गत असार १२ गते स्पष्टीकरण सोधेका थिए ।
स्पष्टीकरण सोधिएको दिनसहित आज स्पष्टीकरण दिने अन्तिम सयम हो । मन्त्रीले सोधेको स्पष्टीकरण फेसबुकबाट सार्वजनिक भएको र आफू संलग्न नभएका पोखरा विमानस्थल सम्बन्धी विषयहरु त्यसमा रहेको भन्दै अधिकारीले स्पष्टीकरण दिन चाहेका छैनन् ।
स्पष्टीकरण दिने म्यादको अन्तिम समयमा स्पष्टीकरण दिन लाग्नु भएको हो ? भन्ने नेपाल प्रेसको प्रश्नमा क्यानका डिजि अधिकारीले केही लचक भएको संकेत गरेका छन् ।
स्पष्टीकरण सोधिएकै बेला गोप्य स्पष्टीकरण पत्र सार्वजनिक गरेको भन्दै असन्तुष्ट बनेका डिजी अधिकारी अहिले भने केही लचक देखिएका हुन् । अधिकारीले नेपालको उडान क्षेत्रको एकमात्र नियामकको हैसियतले नियामकको रक्षा गर्ने भन्दै घुमाउरो शैलीमा स्पष्टीकरण दिने संकेत गरेका छन् ।
नेपाल प्रेससँग कुरा गर्दै डिजि अधिकारीले भने, ‘आकाशको सुरक्षाको जिम्मा लिने आधिकारिक निकाय प्राधिकरण हो । यसकारण पनि नियामकको रक्षा गर्नेतर्फ लाग्छु ।’
केही समय पहिला पर्यटन मन्त्रालयले सिम्रिक एयरलाई काभ्रेमा हेलिपोर्ट बनाउन सैद्धान्तिक स्वीकृति दिएको थियो । यसमा प्राधिकरणले असहमति राख्दै आएको थियो ।
अधिकारीले मन्त्रीको हेलिपोर्ट बनाउने स्वीकृतिलाई खारेज गरिदिने बताउँदै आएका थिए । यही विषयका कारण आफूलाई तारो बनाइएको गुनासो अधिकारीको छ । निजी हेलिपोर्ट बनाउन दिनेमा नेपाली सेनाले समेत असहमति जनाएको बताइन्छ ।
अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो सन्देश जाँदैन ः हवाइ विज्ञ
हवाइ विज्ञ राजकुमार क्षेत्री क्यानको डिजी मन्त्रिपरिषद्को निर्णयले नियुक्त हुने भएकाले ऊ मन्त्रालयप्रति जिम्मेवार हुनुपर्ने बताउँछन् । यद्यपि मन्त्री किरातीको स्पष्टिकरण सोध्ने शैली भने ठिक नभएको उनको बुझाइ छ ।
क्षेत्री भन्छन्, ‘गोप्य रुपमा सोध्नुपर्ने स्पष्टिकरण सामाजिक सञ्जालमार्फत छरपष्ट पार्दा अर्नराष्ट्रियस्तरमै राम्रो सन्देश जादैन । यो भनेको एकदम संवेदनशील विषय हो ।’
यता अर्का उडान विज्ञ रतीशलाल सुमन पहिला पनि मन्त्री र डिजीबीच यस्तो खालको टसल हुने भएपनि भित्रै समाधान हुने गरेको बताउँछन् ।
यद्यपी, यसपटक भने बाहिरै छताछुल्ल हुनुले राम्रो संकेत नगरेको उनको तर्क छ ।
सुमन भन्छन्, ‘मन्त्री र डिजी भनेको एउटै घरका हुन् । घरझगडाले तेस्रो व्यक्तिले फाइदा लिन सक्ने देखिन्छ ।’
अन्र्तराष्ट्रिय स्तरमा यसको मापन कसरीहुन्छ भन्ने हेर्नै बाँकी रहेको उनले बताए ।
के थियो स्पष्टीकरणमा ?
मन्त्री किराँतीले सात दिनको समय दिँदै अधिकारीमाथि उडान सुरक्षामा प्रतिकुल असर गर्ने चरम लापरवाही गरेको, गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थल सञ्चालन गर्न नसकी कार्यक्षमता कमजोर देखिएको, २०७९÷८० को संघीय संसदले पास गरेको बजेट तथा कार्यक्रमको बुँदा नं. १०१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायको रुपमा छुट्याउने भनी उल्लेख भएकोमा प्रक्रिया अघि बढिरहेको अवस्थामा त्यस नीतिविपरीत विभिन्न कार्यक्रममा अभिव्यक्ति दिने, सञ्चारमाध्यमहरूमा अन्तर्वार्ता तथा अभिव्यक्ति दिनेजस्ता काम गरेको आरोप लगाउँदै स्पष्टीकरण सोधिएको थियो ।
अधिकारी महानिर्देशक भएपछि २ वटा यात्रु विमान र ३ वटा हेलिकप्टर दुर्घटना भइ धनजनको क्षति भई गम्भीर प्रश्न उठिरहँदा उड्डयन सुरक्षामा प्रभावकारी कार्ययोजना ल्याउन नसकेको पनि अधिकारीमाथि आरोप छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रनवेको पूर्वतर्फ १.५ कि.मी. मा रहेको छिनेडाँडाको उचाई बढी काटेको विषयमा मन्त्री किराँतीले स्पष्टीकरण सोधेका थिए ।
विज्ञहरुले उनको स्पष्टीकरणमा केही तथ्य भएपनि अधिकांश विषय तिथ्य बिनै सोधेको बताएका छन् । मन्त्री किराँतीको यस कदमले महानिर्देशक अधिकारी र मन्त्री पनि कमजोर बन्ने र अन्र्तराष्ट्रिय स्तरमा नराम्रो सन्देश जाने विज्ञहरुको तर्क छ ।
मन्त्रीको ध्यान स्टन्टमा, राज्यमन्त्री र सचिव नै बेरोजगार
डिजी अधिकारी निर्णय प्रक्रियामा संलग्नै नरहेका बेलाका विषय समेत स्पष्टिकरणमा उठाएर मन्त्रीले पुर्वाग्रह साँधेको विज्ञहरुको दावी छ । त्यसो त मन्त्री किराती कामको परिणाममा भन्दा चर्चा आउने विषयम केन्द्रित रहदा मन्त्रालयको कार्य प्रणाली नै लथालिंग भएको आरोप छ ।
चर्चामा आउन जे पनि स्टन्टबाजी गर्ने र नीति विधि र पद्धतिबाहिरका हावादारी योजना सुनाउदै हिड्ने गर्नाले मन्त्रालयको काम भने अवरुद्ध रहेको उच्च अधिकारीहरुले बताएका छन् ।
मन्त्री किराँती र राज्यमन्त्री सुशीला श्रीपाली एकै पार्टीका भएर पनि दूई महिनादेखि बोलचाल समेत छैन । मन्त्रीविरुद्ध राज्यमन्त्रीले प्रधानमन्त्री र पार्टी नेतृत्वसमक्ष समेत गुनासो गरेकी छन् । त्यस्तै सचिव सुरेश अधिकारी पनि सरुवा माग्दै हिडेको चर्चा मन्त्रालयमा छ ।
मन्त्री किराँती मन्त्रालय अन्तर्गत प्रतिष्ठानका जग्गा जमिन कति छ भनेर सोधखोज गर्ने तर मन्त्रालयका मुख्य निकायमार्फत परिणाममुखी काममा केन्द्रित नहुने प्रवृतिबाट आजित भएका उच्च अधिकारीहरु नै बेरोजगारजस्तो बनेका छन ।

Leave a Reply