नेपाल बारले भन्यो- ललितपुर अदालतकी नासु प्रेमिकाले अधिवक्ता लामिछानेसँग घुस मागेकी थिइन्

काठमाडौं । नेपाल बार एसोसियसनले ललितपुर जिल्ला अदालतकी नासु प्रेमिका तामाङले आदेशको फाइल हेर्न घुस मागेका कारण अधिवक्ता अमिर लामिछानेले इन्कार गर्दा विवाद भएको दाबी गरेको छ ।

तामाङलाई हातपात गरेको आरोपमा पक्राउ परेका लामिछानेलाई तत्काल छाड्न माग गर्दै नेपाल बारले जारी गरेको विज्ञप्तिमा नासु तामाङले घुस मागेको उल्लेख छ ।

‘ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङले मुद्दामा भएको आदेश हेर्नलाई खर्च (घुस) मागेको विषयमा अधिवक्ता अमिर लामिछानेले इन्कारी गरेको विषयलाई अतिरञ्जितपूर्ण ढंगले घटनाको वास्तविकता र यथार्थ विवरणलाई बङ्ग्याई उल्टै अधिवक्ता लामिछानेलाई एकतर्फी दोषी देखाउने अभिप्रायले गरिएको घटना विषयप्रति नेपाल बार एसोसियसनको गम्भीर ध्यानाकर्षण भएको छ’, नेपाल बारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बारले लामिछानेलाई तत्कालै रिहा नगरे सोमबारदेखि देशभरका इजलास बन्द गर्ने चेतावनी दिएको थियो । लामिछानेलाई ललितपुर जिल्ला प्रशासनले आइतबार नै साधारण तारेखमा छाड्ने आदेश गरेको छ ।

यसअघि प्रहरीले चौतर्फी दबाबपछि अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । ललितपुर बारले प्रेमिकाले घुस मागेको भन्दै जिल्ला प्रहरीमा सोमबार बिहान जाहेरी दिएको थियो ।

 

Comments

One response to “नेपाल बारले भन्यो- ललितपुर अदालतकी नासु प्रेमिकाले अधिवक्ता लामिछानेसँग घुस मागेकी थिइन्”

  1. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    यो सम्मको नाङ्गो नभएको भए दुबै पक्षले जित्थे अब हार्नु सिवाय बाकी के राख्यौं बौद्धिक भन्ने हरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *