वकिल र प्रेमिका कसले पहिले हात हाले ? सीसीटीभी बिग्रियो भनेपछि बारको यस्तो वक्तव्य

काठमाडौं । ललितपुर जिल्ला अदालतमा कार्यरत नायव सुब्बा प्रेमिका तामाङमाथि कानून व्यवसायी अमिर लामिछानेले हातपात गरेको विरोधमा आइतबार देशभरका अदालतमा कर्मचारीले हड्ताल गरेका छन् ।

प्रेमिकामाथि हातपात गरेको आरोप लागेका वकिल लामिछाने प्रहरी हिरासतमा छन् तर कर्मचारी संघ संगठनहरुको हड्तालका कारण सेवाग्राहीले दुःख पाएका छन् ।

कर्मचारी संगठनको हड्ताल र महिला कर्मचारीमाथि हातपातको प्रचारले घटनाको वास्तविकता ओझेलमा परेको भन्दै उच्च बार पाटन र ललितपुर जिल्ला बारले भने वक्तव्य नै निकालेर ‘वारदात’ को बेलाको सीसीटीभी फुटेज सार्वजनिक गर्न अदालत प्रशासनलाई चुनौती दिएका छन् ।

उच्च अदालत बार र जिल्ला बारको वक्तव्यले मिडियामासमेत स्थान नपाएको र वकिलले कर्मचारी कुटेको भाष्य स्थापित गर्न खोजिएको उच्च बार पाटनका सदस्य राजाराम घिमिरेले बताए ।

ललितपुर जिल्ला अदालतमा गत असार १३ गते भएको घटनामा सबैभन्दा पहिले कर्मचारी प्रेमिका तामाङले कानून व्यवसायी लामिछानेमाथि हातपात गरेको बारको दाबी छ ।

बारले विज्ञप्तिमा भनेको छ, ‘अधिवक्ता लामिछानेले आफ्नो पक्षको मुद्दामा भएको आदेशको जानकारी लिने क्रममा फाँटवाला कर्मचारी प्रेमिका तामाङसँग अनुरोध गर्दा निजले आदेश हेर्न नदिएपछि सो विषयमा अदालतका श्रेष्तेदारसँग समेत अनुरोध गरेपछि निज कर्मचारीलाई आदेश हेर्न दिनुस् भन्दा आवेशमा आई कानून व्यवसायीलाई अपशब्द प्रयोग गरी हातपात गरेपछि कानून व्यवसायीले सामान्य प्रतिरक्षा गरेको विषयलाई अदालत प्रशासनले सीसीटीभी फुटेजको आधारमा विवादको टुंगो लगाउनुपर्नेमा कानून व्यवसायीलाई प्रहरी प्रशासनको जिम्मा लगाउने कार्य प्रति बार एशोसियसन घोर भर्त्सना गर्दछ ।’

उता जिल्ला बार ललितपुरले घटनको सीसीटीभी फुटेज हेरी थप प्रक्रिया अघि बढाउन आग्रह गर्दा अदालत प्रशासनबाट सीसीटीभी रेकर्ड बिग्रिएको जवाफ आएको भन्दै सन्देह व्यक्त गरेको छ ।

जिल्ला अदालतका श्रेष्तेदार विष्णु पाण्डेयले भने जिल्ला अदालतको सीसीटीभी बिग्रेर बनाउनका लागि सर्वोच्च अदालत पठाइएको बताए । उनले घटनाको दिन सीसीटीभी नहुनु संयोगमात्र रहेको भन्दै बारसँग असझमदारी हटाउनका लागि छलफल गरिने बताए ।

हेर्नुस्- ललितप्र बार र उच्च अदालत बार एशोसिएशनको विज्ञप्ति

Comments

One response to “वकिल र प्रेमिका कसले पहिले हात हाले ? सीसीटीभी बिग्रियो भनेपछि बारको यस्तो वक्तव्य”

  1. Gyan Bahadur Rai Avatar
    Gyan Bahadur Rai

    याे देशकाे वकिल हरु छाडा छोडिएको साँढे र कर्मचारीहरु , महाराजाहरु भएका छन्!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *