नारी शक्तिको जागरण गराउने भन्दै ५ करोड नगद र १०० तोला सुन ठगी गर्ने धर्म गुरु पक्राउ

काठमाडौं । नारी शक्तिको जागरण गराउने भनेर ठगी गर्ने धर्म गुरु पक्राउ परेका छन् । भक्तपुरको मध्यपुर थिमी नगरपालिका- ४ गठ्ठाघर बस्ने शिवसुत गौरी भक्त भन्ने ४८ वर्षीय पुरुषोत्तम काफ्लेलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।उनले ठगी धन्दा  चलाउनकै लागि गाैशालामा  आश्रम बनाएर महिलाहरुलाई ठगी गर्ने गरेका थिए ।

काफलेले काठमाडौंस्थित हाम्रो अभियान नेपाल र ओम आश्रम नेपालनामक संस्था खोली “परिवारको भबिष्य आमाको हातमा हाम्रो अभियान तपाईको साथमा” भन्ने नारा बनाई पीडितहरुलाई स्वदेशी तथा विदेशी कम्पनीमा रकम लगानी गर्न लगाउँथे ।

उनले स्व अध्ययन सम्वन्धी ३ दिने सेमिनार गरी संस्थाको सदस्य बन्न लगाई सदस्यता बने बापत प्रति व्यक्ति शुल्क १०८ लिई फारम समेत भर्न लगाउँथे । उक्त संस्थामा आबद्ध गराई धैरै मुनाफा हुने प्रलोभन देखाई लगानी गर्न प्रेरित गराई रकम लगानी गरे पश्चात लगानीको सुनिश्चितता नगरी पटक-पटक थप लगानी गर्न दवाव दिई लगानी गर्न बाध्य बनाउने गरेको पीडितहरुको भनाइ छ ।

लगानी नगरेमा परिवारको सदस्यलाई मारी दिने धम्की दिने सुन तथा सुनका गरगहना समेत लिएर सम्पर्कविहीन भएका थिए । उनले पीडितहरुको पाँच करोड भन्दा बढि र १०० तोला भन्दा बढि सुन एवं सुनका गरगहना समेत लिएर ठगी गरेको अनुसन्धानबाट खुलेको छ ।

रकम र गरगहना लिई भारतमा भागेका काफलेलाई खोजतलास पक्राउ गरी कानून बमोजिम हदै सम्मको कारवाही गरी ठगी भएको रकम र सुन तथा सुनका गरगहना समेत फिर्ता गराई पाउँ भन्ने पीडितहरुको जाहेरी दिएका थिए ।

पीडितहरुको उजुरीको आधारमा काफ्लेलाई शनिबार कञ्चनपुरको गड्डाचौकीबाट सीइबीको टोलीले पक्राउ गरेको हो । उनलाई काठमाडौं जिल्ला अदालत बबरमहलबाट दिन ७ म्याद लिई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर मुद्दामा अनुसन्धान भई रहेको प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *