कृषि विकास कार्यालय मुगुका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

सुर्खेत । कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

मंगलबार अख्तियारले गैरकानूनी लाभ तथा हानी पुर्‍याएको भन्दै भ्रष्टाचार गरेको अभियोगमा कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित अन्य ६ जनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

तत्कालीन निमित्त कार्यालय प्रमुख पञ्चलाल बुढा, तत्कालीन सब-इन्जिनियर राजेन्द्र शाही र प्रा.स सहायकस्तर पाँचौं टेकबहादुर खत्री तथा उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर रोकाया, कोषाध्यक्ष अमनाकुमारी रोकाया र सचिव भुवन रावलविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

उनीहरुले मुगुको खत्याड गाउँपालिका- ४ स्थित गुगियाचौरमा प्रदेश सरकारबाट रकम प्राप्त भई आर्थिक वर्ष २०७६/०७७ मा सकिनुपर्ने योजनाको कामै नगरी काम सम्पन्न भएको प्रतिवेदन तयार गरी बिल भुक्तानीलगायतका कार्य गरी आर्थिक अनियमितता गरेको पाइएको अख्तियारले बताएको छ ।

तत्कालीन निमित्त कार्यालय प्रमुख बुढाले खिराचौर कृषि सिंचाइ निर्माण योजना अधुरो र समयमा काम नगर्ने उपभोक्ता समिति तथा अन्य संलग्नहरुलाई नियमानुसार कारबाही गर्नुपर्नेमा सो नगरी निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे/नगराएको परिमाणको कार्य भएको भनी नापी किताबमा चढाई सोहीबमोजिमको कार्य स्वीकार प्रतिवेदन तयार प्रमाणित गरी १२ लाख ८३ हजार ३४ रुपैयाँ ७७ पैसा भुक्तानीका लागि टिप्पणी उठाउन लगाई भुक्तानीको आदेश दिएको अख्तियारको ठहर रहेको छ ।

बुढाविरुद्ध १२ लाख ८३ हजार ३४ रुपैयाँ ७७ पैसा बिगो कायम गरी कैद र जरिवानाको माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

यस्तै कृषि विकास कार्यालय मुगुका तत्कालीन सब-इन्जिनियर शाही र प्रा स सहायक खत्रीले निर्माण योजनाको स्थलगत अनुगमन तथा नापजाँच गरी नापी किताबलगायतको वास्तविक प्रतिवेदन दिनुपर्नेमा निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी नगरे नगराएको परिमाणको कार्य भएको भनी गलत स्थलगत प्रतिवेदन, नापी किताब तथा कार्य स्वीकार प्रतिवेदन/प्राविधिक प्रतिवेदन तयार गरी भुक्तानी सिफारिस गरेको अख्तियारको ठहर छ ।

उनीहरुविरुद्ध पनि १२ लाख ८३ हजार ३४ रुपैयाँ ७७ पैसा बिगो कायम गरी कैद र जरिवानाको माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता दाहालले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *