पुरनको ‘क्याच मिस’ महँगो बन्यो नेपाललाई

काठमाडौं। जिम्बावेमा जारी विश्वकप छनोटअन्तर्गत वेस्ट इन्डिजविरुद्ध नेपालले कसिलो बलिङ सुरुवात गरेर पनि विशाल लक्ष्य पाएको छ।
टस जितेपछि नेपालका कप्तान रोहित पौडेलले पहिला बलिङ गर्ने निर्णय गरेका थिए।

त्यसपछि नेपालले सुरुका १० ओभरमा केवल ३० रन मात्र दिएको थियो। त्यसबीचमा वेष्ट इन्डिजका दुई जना ब्याट्सम्यान आउट भएका थिए।
५५ रन जोड्दा तेस्रो विकेट गुमाएको वेस्ट इन्डिज संकटमा पर्ने अनुमान गरिएपनि कप्तान साई होप र निकोलस पुरनले शानदार ब्याटिङ गरे।

उनीहरुले चौथो विकेटका लागि २ सय १६ रनको साझेदारी गरेभने यी दुबै ब्याट्सम्यानले सतक पनि बनाए। वेस्ट इन्डिजले अन्तिम ४० ओभरमा ३ सय ९ रन जोडेको थियो।

पुरनले ३ रन र ५३ रन जोड्दा दुईपटक जीवनदान पाएका थिए। सुरुमा विकेटकिपर आसिफ शेखले क्याच छुटाएका थिए। उनले ९४ बलमा ४ छक्का र १० चौका प्रहार गर्दै एक सय १५ रन जोडे। यस्तै कप्तान होपले एक सय २९ बलमा ३ छक्का र १० चौका हिर्काए।

नेपालका ललितनारायण राजबंशीले तीन तथा सन्दीप लामिछाने, गुल्सन झा, करन केसी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट हात पारे। नेपालले ७ जना बलरलाई उतारेको थियो। एक ओभर मात्र बलिङ गरेका कुशल मल्लले ८ रन दिए।

४ ओभर बलिङ गरेका आरिफ शेखले ३३ रन खर्चिए। १० ओभरमा सन्दीपले ५० र करनले ८१ रन दिए। ललितले १० ओभरमा ५२ रन खर्चिए। दीपेन्द्रले ७ ओभरमा ४५ र गुल्सनले ८ ओभरमा ६४ रन खर्चिएका थिए। खेलभर वेस्ट इन्डिजले १० छक्का र २७ चौका प्रहार गरेको थियो।

नेपालविरुद्ध दोस्रोपटक टेस्ट टोलीका दुई ब्याट्सम्यानले बनाए सतक

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले दोस्रोपटक टेस्ट मान्यताप्राप्त टोलीसँग खेलिरहेको छ। यसअघि जारी प्रतियोगिताकै पहिलो खेलमा नेपालले जिम्बावेसँग खेल्दै ८ विकेटको हार ब्यहोरेको थियो।

त्यस खेलमा नेपालले २ सय ९१ रनको लक्ष्य दिएको थियो। जिम्बावेले ३५ बल बाँकी रहँदा २ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो।
जिम्बावेका दुई ब्याट्सम्यानले सतक बनाएका थिए। कप्तान क्राइग एर्भिनले एक सय २१ र सिन विलियम्सले एक सय २ रन जोडेका थिए। उनीहरुबीच तेस्रो विकेटका लागि एक सय ६४ रनको साझेदारी भएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *