विराटनगर । पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर र संखुवासभामा बाढी र पहिरोमा परी मृत्यु भएका मृतकका आफन्तले पाउने गरी कोशी प्रदेश सरकारले प्रतिमृतक एक लाखका दरले राहत रकम पठाएको छ ।
सम्बन्धित जिल्ला प्रशासन कार्यालयले तोकेको कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा पुग्ने गरी उक्त राहत रकम बिहीबार कोशीको आन्तरिक मामिला तथा कानून मन्त्रालयले पठाएको हो ।
सोमबार बसेको कोशीको मन्त्रिपरिषद् बैठकले प्रतिमृतक एक लाखका दरले मृतकको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।
त्यसैगरी बिहीबार नै बाढी पहिरोमा परी क्षतिग्रस्त सखुवासभाका १७ वटा घर पुनर्निर्माणका लागि राहतस्वरुप सात लाख ५० हजार रुपैयाँ पठाइएको छ । जसमा पूर्ण क्षति भएका १३ वटा घर पुनर्निर्माणका लागि प्रतिघर ५० हजार र आंशिक क्षति भएका चार वटा घर पुनर्निर्माणका लागि ३० हजारका दरले राहत रकम पठाइएको हो ।
उक्त रकम पनि जिल्ला प्रशासन कार्यालय संखुवासभाले तोकेको कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा पठाइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले बताए ।

Leave a Reply