बाढीले ताप्लेजुङको सिरीजङ्घाको खेवाङ र सिदिङ्वाको मेहेले जोड्ने मोटरेबल पुल बगायो

ताप्लेजुङ ।अत्यधिक वर्षाका कारण अहिले ताप्लेजुङको पूर्वी क्षेत्रको जनजीवनमा असर परेको छ । दुई दिनदेखिको अविरल वर्षाका कारण सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढी, पहिराले थप जोखिम बढाएकाले यहाँका नागरिक त्रस्त छन् ।

गए राति आएको बाढीले सिरीजङ्घाको खेवाङ र सिदिङ्वाको मेहेले जोड्ने तावाखोला माथिको मोटरेबल पुल बगाएको छ । एक महिना अघिदेखि सञ्चालनमा आएको उक्त पुलको आधा भाग बाढीले बगाएको स्थानीयवासीले बताए । सिरीजङ्घा गाउँपालिका–८ याम्फुदिनमा दुईवटा जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पुर्‍याएको छ । स्थानीयवासी पेम्बा शेर्पाका अनुसार आठ किलोवाट क्षमताको जलविद्युत्को पावरहाउस बाढीले क्षति पु¥याएको छ भने अर्को १५ किलोवाटको पाइप पनि बगाएको छ ।

यस्तै स्थानीय जगत्बहादुर राईको एक घर बाढीकै कारण जोखिममा परेको छ । यता सिदिङ्वा गाउँपालिकाको सुरुम्खिमका विद्यालय हिजोदेखि नै वर्षाका कारण बन्द गरिएका छन् । अत्यधिक वर्षाका कारण बाढी र पहिराको जोखिम रहेकाले विद्यालयहरु बन्द गरिएको हो । निरन्तर वर्षा भइरहेकाले जनजीवन त्रस्त बनेको खेवाङका शिक्षक बिनम माबोले बताए।

‘विगत ३६ घण्टादेखि निरन्तर वर्षा भइरहेको छ, गाउँघरमा वारिपारि ओहोरदोहोर गर्ने अवस्था छैन, मानिसहरू बाढी पहिराको त्रासमा छन्’, उनले भने। विशेषगरी जिल्लाका पूर्वी भेगमा पर्ने खेवाङ, याम्फुदिन, मामाङ्खे, सुरुम्खिमलगायत ठाउँमा वर्षा भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *