काठमाडौं । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको थुनछेक बहसमा सोमबार अपरान्ह वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने टेकनाथ रिजालले अदालतमा गरेको बयान पढेर सुनाउँदै थिए ।
भित्तामा अढेस लागेर बहस सुनिरहेका प्रतिवादी आङटावा शेर्पाले नजिकै बसेका सानु भन्डारीलाई सोधे, ‘यो मान्छे कसको वकिल हो ?’ भण्डारीले प्रतिवादी रामशरण केसीको तर्फबाट न्यौपानेले बहस गरिरहेको बताए ।
‘तर अघिदेखि रिजालको पक्षमा बहस गरिरहेको छ त ?’, शेर्पाले फेरि प्रश्न गरे । जवाफ आएन ।
वरिष्ठ अधिवक्ता न्यौपानेले बहस सुरु गरेपछि अधिकांश प्रतिवादीहरु एकअर्काको अनुहार हेर्दै आश्चर्य मानिरहेका थिए । थुनछेक बहसको आठौँ दिन सम्भवतः पहिलोपटक कुनै प्रतिवादीका वकिलले नक्कली भुटानी शरणार्थीका नाममा ठगी भएको र अन्य प्रतिवादीको संलग्नता रहेको नामै किटेर बहस गरिरहेका थिए ।
यसअघि आइतबार सचिव टेकनारायण पाण्डेका कानून व्यवसायीले यो प्रकरणमा सचिव पाण्डेले सूचना लिनेसम्म काम गरेको दाबी गरेका थिए । तर आफूलाई अमेरिका पठाइदिने भनेर विभिन्न व्यक्तिसँग पैसा उठाउन लगाइएको बताउने केसीका पक्षमा बोलेका न्यौपानेले सरकारको माथिल्लोस्तरबाट ‘ह्वाइट कलर क्राइम’ भएको दाबी गरे ।
‘केसीले अमेरिका जान पाइने आशामा आफू र अन्यबाट ३ करोड ४० लाख रुपैयाँ उठाएर गिरोहका विभिन्न सदस्यलाई बुझाएको प्रमाण पेश गरेका छन्’, अधिवक्ता न्यौपानेले भने, ‘उनले पैसा उठाएका धेरै व्यक्तीलाई घर धितो राखेर पैसा फिर्ता पनि गरेका छन् । सरकारको माथिल्लोस्तरबाट भ्रष्टाचार हुने अनि तीनलाई अनुसन्धानमा नल्याएर कागजको बाघ बनाएर सामान्य मान्छेलाई मुद्दा चलाइएको छ । केसी त यो प्रकरणमा पिडित हुन् ।’
त्यसपछि न्यौपानेले अदालतमा भुटानी शरणार्थी नेता टेकनाथ रिजालले गरेको बयान पढेर सुनाएका थिए । रिजालले बयानका क्रममा सानु भण्डारी र केशव दुलालले भुटानी शरणार्थीलाई अमेरिका लैजाने प्रक्रिया सरकारले अगाडि बढाएको कुरा राखेपछि पहिला केपी ओली र प्रचण्डलाई भेटाएमा त्यसबारे बुझ्ने र त्यसपछि मात्र निर्णय गर्ने बताएको वरिष्ठ अधिवक्ता न्यौपानेले उल्लेख गरे ।
‘त्यसपछि रिजाललाई काठमाडौंमा बोलाएर टोपबहादुरको घरमा सानु भन्डारी र केशव दुलालसहित भेटेपछि प्रचण्डकहाँ पुर्याएको उहाँको अदालतको बयानमा देखिन्छ’, न्यौपानेले भने, ‘भुटानी समस्या समाधानका विषयमा जिज्ञासा राखेपछि त्यसबारे प्रचण्डले टोपबहादुरसँग सबै कुरा भन्नुस्, उहाँले अगाडि बढाउनु हुन्छ भनेको बयानमा लेखाएको देखिन्छ । टोपबहादुर-केशवहरु मिलेर योजना बनाउने, सरकारले तयारी गर्दै छ भनेर हल्ला गर्ने अनि मुद्दा चाहिँ रामशरण केसीजस्ता निर्धालाई चलाउने ? ललिता निवास प्रकरणमा निर्णय गर्ने मन्त्रीलाई उन्मुक्ती दिएर टिप्पणी उठाउने कर्मचारीलाई मुद्दा चलाएजस्तो भएन ?’
त्यसपछि सचिव पाण्डेले पछाडि फर्किएर अर्का प्रतिवादी सानु भण्डारीलाई सोधे, ‘कस्तो मान्छे राखेको ?’ प्रतिवादीका तर्फबाट भइरहेको बहस केसीका वकिल न्यौपानेले बिगारेको उनको आशय थियो । उनी मात्र होइन, अन्य प्रतिवादीहरु पनि रिसाएको जस्तो देखिन्थ्यो । वरिष्ठ अधिवक्ता न्यौपानेले बयानमा पोलिएका सबैमाथि एक महिनाभित्र अभियोजन गरेर पुरक अभियोगपत्र दर्ता गर्न अदालतले आदेश गर्नुपर्ने माग राखेका थिए ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भइरहेको थुनछेक बहसमा अझै पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित, आङटावा शेर्पा, लक्ष्मी महर्जन, हरिभक्त महर्जन, शमशेर मिया, टेकनाथ रिजालका कानून व्यवसायीले बहस गर्न बाँकी छ ।
न्यायाधीश न्यौपानेले प्रतिवादीलाई बहसका लागि मंगलबारसम्मको समय छुट्याएका छन् । बुधबार साँझसम्म थुनछेक आदेश गर्ने तयारी उनको छ ।

Leave a Reply