गणतन्त्र दिवसको समारोह मेयर साहले गरे ‘बहिष्कार’, उपमेयर पनि अनुपस्थित

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा आज टुँडिखेलमा आयोजित समारोह काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अघोषित बहिष्कार गरेका छन् । उनी केही समययता संघीय सरकारसँग असन्तुष्ट थिए ।

हरेक वर्ष गणतन्त्र दिवसका दिन आयोजना गरिने औपचारिक समारोहमा उच्चपदस्थहरूलाई आमन्त्रण गर्ने गरिन्छ । काठमाडौंका मेयर र उपमेयरको पनि अनिवार्य उपस्थिति रहँदै आएको छ । तर, यसपालि मेयर साह र उपमेयर सुनिता डंगोल दुवै कार्यक्रममा अनुपस्थित रहे । ललितपुरका मेयर चिरीबाबु महर्जन भने समारोहमा सहभागी थिए ।

गणतन्त्र दिवस समारोहमा काठमाडौं महानगरको विशेष भूमिका रहने गरेको थियो । समारोहका लागि स्टेज निर्माण र व्यवस्थापनको जिम्मा महानगरले पाउँथ्यो । यसपटक भने यो भूमिकाबाट पनि काठमाडौं महानगर पन्छिएको छ ।

समारोह आयोजनाका लागि हरेक वर्षजस्तै प्रधानमन्त्रीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको थियो । सबै उपप्रधानमन्त्री, मन्त्री रहने समितिमा काठमाडौंका मेयर पनि सदस्य रहन्छन् ।

मेयर बालेननिकट स्रोतले गणतन्त्र दिवस संघीय सरकारले मनाउने कार्यक्रम भएकाले महानगरले हात झिकेको बतायो ।

‘पहिले के परम्परा थियो भन्ने भन्दा पनि आफैंले परम्परा बसाउने हो । गणतन्त्र दिवसको समारोह संघीय सरकारले आयोजना गर्ने भएकाले स्टेज व्यवस्था पनि सरकार आफैंले गरोस् भनेर छोडिदिएका हौं,’ स्रोतले भन्यो ।

महानगरका प्रवक्ता नवीन मानन्धरले गणतन्त्र दिवसको समारोहमा मेयर-उपमेयरको अनुपस्थितिबारे जानकारी नरहेको बताए । अघिल्ला वर्षहरूमा स्टेज व्यवस्थापनका लागि सरकारले महानगरलाई जिम्मेवारी दिने गरेकोमा यसपाली त्यो पनि नभएको उनको भनाइ छ ।

‘हामीलाई औपचारिकरूपमा यसबारे केही पनि भनिएको छैन, तर महानगर संलग्न नभएको चाहीँ हो,’ उनले भने ।

मेयर बालेनका निकट सहयोगी कुमार बेनले भने बालेन काठमाडौंबाहिर भएको दावी गरे ।

‘उहाँ दुई-तीन दिनदेखि विशेष कामले भ्याली बाहिर हुनुहुन्छ, त्यसैले नजानुभएको हो,’ उनले भने, ‘बहिष्कार भएको होइन ।’

तर, बालेन काठमाडौंमै रहेको बुझिएको छ । हिजो रातिसम्म उनी साथीभाइसँग रमाइलो गरिरहेका थिए । उनी आजको कार्यक्रममा नजाने नै मनस्थितिमा थिए ।

उपमेयर सुनिता डंगोलको अनुपस्थितिको कारण खुलेको छैन । उनीनिकट स्रोतले बजेट निर्माणको चटारोले गर्दा जान नभ्याएको दाबी गर्‍यो । यस विषयमा मेयर बालेनसँग भने सल्लाह नभएको स्रोतको भनाइ छ ।

मूल आयोजक समितिका सदस्यसचिव समेत रहेका गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले मेयर र उपमेयर अनुपस्थित रहनुको कारण बारे अनभज्ञिता दर्शाए । उनले नेपाल प्रेससँग भने, ‘निम्ता त गरिएको हो । किन आउनुभएन भन्ने जानकारी छैन ।’

Comments

2 responses to “गणतन्त्र दिवसको समारोह मेयर साहले गरे ‘बहिष्कार’, उपमेयर पनि अनुपस्थित”

  1. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    बालेन परिचालित हुन सुनिताले बचकना देखाइन

    1. राज धनिधर शर्मा Avatar
      राज धनिधर शर्मा

      मूला के भो त । ठिकै गर्यो त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *