एलओडीले भन्यो- महिला कर्मचारीमाथि दुर्व्यवहार भएको समाचारले दुःखी छौँ

काठमाडौं । एलओडी क्लबले आफ्नो महिला कर्मचारीमाथि भएको यौन दुर्व्यवहारको घटनामा संलग्नलाई कारबाही माग गरेको छ । केही दिनअघि क्लबका दुई महिला क्लिनर (सरसफाइ कामदार) लाई बलात्कार गरेको आरोपमा दुई जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

सोमबार क्लबले विज्ञप्ति जारी गर्दै सामाजिक न्यायमा क्लब परिवार अझ बढी संवेदनशील र अडिग रहेको जनाएको छ ।

‘हामी महिलामाथि दुर्व्यवहारका घटना हुन नदिन अत्यन्तै सजग छौ, लैङ्गिक समानतामा दृढ छौ,’ क्लबले भनेको छ,’ हाम्रा दुई महिला कर्मचारीमाथि भएको दुर्व्यवहार भएको कुरा सार्वजनिक हुँदा हामी अति नै दुःखित भएका छौ । यो घटनाको जानकारी विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि हामीले पनि थाहा पायौ । ‘

घटना क्लबभन्दा बाहिर भएको भएता पनि हामी सामाजिक न्यायका लागि प्रतिबद्ध रहेको क्लबले बताएको छ । ‘हाम्रा कर्मचारीहरू प्रति भएको दुःखद अनि असहज घटनामा हाम्रो साथ रहने छ । पुनः सामाजिक न्याय र समानतामा क्लब सदा अडिग रहने विश्वास दिलाउन चाहन्छौ,’ विज्ञप्तिमा उल्लेख छ ।

जुनसुकै हिंसा वा घटना मानवअधिकार विरोधी भएको र अझ यौन हिंसा चरम मानवता विरोध अपराध रहेको क्लबले जनाएको छ । जिल्ला अदालत काठमाडौँमा जघन्य अपराध बलात्कार घटनामा मुद्दा दर्ता भइसकेको क्लबले प्रस्ट पारेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *