गलत संयोगले अप्ठेरोमा परेका रवि ‘ड्यामेज कन्ट्रोल’ को प्रयासमा

काठमाडौं । भ्रष्टाचारको फाइल खोल्ने आफ्नो पार्टीको मुख्य एजेन्डा प्रचण्ड सरकारले नीति-कार्यक्रमबाट हटाएपछि असन्तुष्ट बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लियो । तर, संयोगवश रास्वपाले यो निर्णय लिनु र सरकारले नक्कली शरणार्थी प्रकरणमा ‘हाइप्रोफाइल’ हरुमाथि कारवाही थाल्नु एकैसाथ परेको छ ।

पूर्वगृहमन्त्री बालकृष्ण खाणसमेतलाई पक्राउ गरेपछि सरकारले व्यापक जनसमर्थन पाउन थाल्यो भने रास्वपामाथि सामाजिक सञ्जालमा प्रश्नहरु उठ्न थाले । यसअघि विभिन्न खराब निर्णयहरु गरिरहँदा समर्थन कायम राखेको रास्वपाले सरकार भ्रष्टाचारविरुद्ध उभिँदा किन हात छोड्यो भन्ने धेरैले प्रश्न गरेका छन् ।

रविका लागि अर्को पनि गलत संयोग पर्न गयो । खाण पक्राउ परेकै दिन बिहानै उनले प्रधानमन्त्रीमाथि प्रश्न उठाउँदै सामाजिक सञ्जालमा कडा स्टाटस पोस्ट गरेका थिए ।

उनको स्टाटस यस्तो थियोः

शिर्ष नेताहरुको तिब्र भेटघाट, फरार ९गराइएका० अझै सम्पर्क विहिन, नाम आएकाहरु माथीको अनुसंधान फितलो १११ खबरदार, अनुसंधानको लहरोले ठुला नेता र तिनका सन्तानको ूजगजाहेर तान्डवू लाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन । यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला । प्रधानमन्त्रीज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त रु एउटा तोप पड्काउन यत्रो सकस ११

रविले यो स्टाटस बिहान ९ः३४ मा हालेका थिए । तर, उनले लेखेको केहीबेरमै प्रहरीले पूर्वगृहमन्त्री खाणलाई निवासबाट पक्रेको समाचार सार्वजनिक भयो । फलतः रवि अर्को स्टाटस पोस्ट गर्नुपर्ने वाध्यतामा परे । प्रधानमन्त्रीमाथि गम्भीर प्रश्न उठाएको १ घन्टा पनि नबित्दै उनले प्रधानमन्त्रीलाई धन्यवाद दिँदै अर्को स्टाटस लेखे ।

रविले १०ः२८ मा हालेको दोस्रो स्टाटस यस्तो थियो:

धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यु, धन्यवाद प्रधानमन्त्री ज्यु। यो शिलशिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्।
आफ्ना स्टाटसहरमा प्रायः प्रशंसा र ताली मात्रै खान बानी परेका रविले यी दुवै स्टाटसमा थुप्रै नकारात्मक प्रतिक्रियाहरुको सामना गर्नुपरेको थियो । एकछिनमै बोली फेरेको आरोप उनलाई लाग्यो ।

भ्रष्टाचार नियन्त्रणलाई नै मुल मुद्दा बनाएको पार्टी हो रास्वपा । तर, सरकारले भ्रष्टाचारविरुद्धको ठूलो कारवाही अघि बढाउँदा रास्वपा प्रतिपक्षी बेञ्चमा बसेर टुलुटुलु हेर्न विवश बनेको छ । आफू गृहमन्त्री बन्दा नै शरणार्थी प्रकरणको लहरो तान्न सुरुवात गरेको दावी रविले गरेका छन् । तर, उनले यसमा कुनै पनि जस पाउने अवस्था छैन किनकी रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको अवस्था छ अहिले ।

यही विरोधाभासले गर्दा दवावमा परेका रविले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटे । भेटघाटको उद्देश्य थियो, भ्रष्टाचारविरुद्ध सरकारको कारवाहीमा ऐक्यवद्धता जनाउनु । उनले प्रधानमन्त्रीलाई खुट्टा नकमाउन आग्रह गरे ।
‘सरकारको कारवाहीमा हाम्रो पूर्ण समर्थन छ । अब सरकारले खुट्टा नकमाओस,’ उनको भनाइ उद्वृत गर्दै रास्वपा महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले भने ।

स्रोतका अनुसार रविले यदि शरणार्थी प्रकरणकै कारण भोलि सरकार अप्ठेरोमा परेको खण्डमा आफ्नो पार्टीले साथ दिने वचनसमेत दिएका छन् । यद्यपि, यो वचन तात्कालीक खपतका लागि मात्रै हो भनेर बुझ्न कठिन छैन ।

रविले उपनिर्वाचनमा शानदार विजय हासिल गरेपछि प्रचण्डले रास्वपालाई सरकारमा ल्याउन निकै जोडबल लगाएका थिए । रास्वपालाई पुरानै मन्त्रालय दिन पनि उनी तयार थिए । तर कांग्रेस सभापति शेरबहादुर देउवाको नाडी छामिसकेपछि रविले यो सरकार धेरै नटिक्ने आँकलन गरे । त्यसैले गृहमन्त्रीकै अफर पनि उनले खारेज गरिदिए । यदि अहिले नारायणकाजी श्रेष्ठको कुर्सीमा रवि लामिछाने हुन्थे र शरणार्थी प्रकरणमा प्रहरीले यसैगरि कारवाही अगाडि बढाएको हुन्थ्यो भने सबै जस रविले पाउने निश्चित थियो । उनको अभूतपुर्व हाइहाइ हुने थियो । त्यो अवसर उनले गुमाएका छन् ।

शरणार्थी प्रकरणको जस लिन नपाए पनि रवि अपजस खेप्न भने चाहँदैनन् । त्यसैले उनी विभिन्न रणनीति बनाइरहेका छन् । प्रधानमन्त्रीसँगको भेट त्यसकै एउटा उपज हुन सक्छ । उनले भोलि प्रहरीलाई धन्यवाद दिन भन्दै नक्शालको नारायणचौरमा कुनै समूहले आयोजना गर्न लागेको प्रदर्शनमा सहभागी हुने बताएका छन् । यस्तो प्रदर्शन विल्कुल अनावश्यक हो । प्रहरीले आफ्नो काम गरिरहेका बेला जेसुकै बहानामा पनि सडकमा गएर उफ्रिनुको कुनै तुक हुँदैन ।

रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. ढकाल शरणार्थी प्रकरणमा सरकारले चालेको कदमलाई आफ्नो पार्टीले पूर्ण समर्थन गर्ने बताउँछन् । रास्वपालाई जनताले दिएको जनादेशका कारणले पनि सरकारलाई भ्रष्टाचारविरुद्ध अगाडि बढ्न प्रेसर परेको उनको विश्लेषण छ ।

‘चुनाव परिणामका कारण सरकारलाई पर्फमेन्स देखाउनैपर्ने दवाव पर्यो । तर, जेसुकै कारण भए पनि यो सवालमा सरकारलाई हाम्रो समर्थन हुनेछ,’ उनले भने ।

यद्यपि, यो अनुसन्धानले तार्किक निचोड पाउनेमा ढुक्क हुन सक्ने अवस्था नरहेको ढकाल बताउँछन् ।

उनले थपे, ‘विगतको दृष्टान्तका कारण प्रशस्त आशंकाहरु छन् । तर, त्यसो भनेर हामी अहिल्यै नकारात्मक सोच्दैनौं । सरकारलाई शंकाको सुविधा दिन चाहन्छौं ।’

 

Comments

One response to “गलत संयोगले अप्ठेरोमा परेका रवि ‘ड्यामेज कन्ट्रोल’ को प्रयासमा”

  1. Janak Chaudhary Avatar
    Janak Chaudhary

    यो माओवादीले हिम्मत गरेर गरेको काम नै होइन । त्यसैले उसलाई धेरै फुर्काउन आवश्यक छैन । साच्चै यो सरकारले गर्ने हो भने, ललिता निवास, सिसिटिभि फुटेजको तार मुसाले काटेको, सर्प संरक्षण, क्यान्टोनमेन्ट सबै बिषय सार्वजनिक बनाउनु पर्छ । प्रहरीले पक्राउ गर्ने मान्छेको शुचि देखेर गृहमन्त्री र प्रधानमन्त्री स्वयम् चकित भएको अवस्था छ । यिनिहरुले न छानबिन गरे न त पक्राउ गर्न आदेश नै दिएका छन् । यो सरकारको मन्त्री परिषद् बिस्तार मै रुमलिएको समयमा भुटानी शरणार्थी काण्ड शुरुआत भइसकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *