महेश बस्नेत भन्छन्- बालकृष्ण खाणदेखि दिपेश पुनसम्मलाई छानबिनको दायरामा ल्याउनुपर्छ (भिडिओ)

काठमाडौैं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टीका सचिव टोपबहादुर रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएजस्तो आफूहरूलाई नलागेको बताएका छन्। यद्यपि, उनले सचिव रायमाझी कानुनी दायरामा आएर अनुसन्धानमा सघाउने विश्वास व्यक्त गरे।

प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा एक/दुई दिन ढिला भए रायमाझीले आएर प्रहरीलाई सहयोग गर्ने उनको भनाइ छ।

उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीको ट्रयाक रेकर्ड हेर्दा उहाँ यस्तो गम्भीर कुरामा संलग्न हुनुहुन्न भन्ने हामीलाई लाग्छ। हामीलाई लाग्छ भन्दैमा यसमा अनुसन्धान नहोस् दबाइयोस् भन्ने मनसाय होइन।’

अनुसन्धानमा संलग्न राज्यको निकायहरूले नै धेरै विषय लुकाउन खोजेकाले आफूहरूले केही तथ्य सार्वजनिक गरेको बताए।

उनले भने, ‘हिजोसम्म भनिरहँदा मान्छेहरूले पत्याएका थिएनन्। हिजो हामीले आरजू देउवालाई साढे २ करोड र बालकृष्ण खाण र मन्जु खाणलाई ६ करोड दिएको अडिओ हामीले सार्वजनिक गर्‍यौँ। यस्ता धेरै विषयवस्तु हामी खोजेको क्रममा छौँ।’

उनले टोपबहादुर रायमाझीलाई छानबिनको दायरमा ल्याउँदै गर्दा पूर्व गृहमन्त्री खाणमाथि पनि छानबिन गर्नुपर्ने उनको भनाइ छ।

‘बालकृष्ण खाणजी गृहमन्त्री भएको बेलामा यो सबै कुरा भएको हो। त्यसैले बालकृष्ण खाणदेखि दिपेश पुनसम्ममा जो जोको नाम आइरहेको छ। सबैलाई छानबिनको दायरामा ल्याउनुपर्छ’ उनले भने।

उनले यो प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीले फिल्म आउन बाँकी छ भन्दै गर्दा सुपर हिट बनाउने कि फ्लप बनाउने उहाँहरूकै हातमा रहेको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *