दुई पूर्वप्रहरीलाई राजनीतिमा धक्का, दुवै चुनावमा जनताले पत्याएनन्

काठमाडौ । नेपाल प्रहरीमा आईजीपीसम्म बनेका सर्वेन्द्र खनालको ब्याच आम चर्चाको हिसाबले उल्लेख्य थियो । उनका ब्याजी रमेश खरेल र पुस्कर कार्की पनि सेलिब्रेटी छविका प्रहरी अधिकृत थिए । आईजीपी बन्न उनीहरूबीच अन्तिम समयमसम्म रस्साकस्सी देखिएको थियो ।

सरकारले खनाललाई आईजीपी बनाएपछि खरेलले आफूमाथि अन्याय भएको भन्दै डीआईजीबाटै राजीनामा दिए । खरेल, खनालको नेतृत्व स्वीकारेर बस्न तयार भएनन् । त्यसपछि उनले भ्रष्टाचारविरोधी अभियान सुरु गरेर राजनीतिमा प्रवेश गर्ने तयारी गरे । पछि नेपाल सुशासन पार्टी स्थापना गरे ।

यता करिब २ वर्ष प्रहरी नेतृत्व गरेर अवकाश पाएका खनाल लगत्तै राजनीतिमा आउने चर्चा चलेपनि उनको औपचारिक प्रवेश भने गत प्रतिनिधिसभा निर्वाचनको केही महिना अघि मात्र भएको थियो । तत्कालीन संसदको दोस्रो ठुलो दल नेकपा एमालेले उनलाई टिकट नै दियो । त्यो पनि राजधानी काठमाडौंकै निर्वाचन क्षेत्रमा ।

उता खरेल पनि काठमाडौंबाटै उम्मेदवार बन्ने तयारी गर्दै थिए । अन्तत उनीहरु दुवैले राजनीतिमा पहिलो परीक्षा दिए । तर दुवैलाई काठमाडौंका जनताले पत्याएनन् । वैकल्पिक राजनीतिको एजेन्डा बनाएका खरेलले पाचौं भए । उनी उठेको काठमाडौं १ बाट कांग्रेसका प्रकाशमान सिंह विजयी भए ।

हारलगत्तै खरेलले रवि लामिछानेले आफूलाई धोका दिएको आरोप लगाएका थिए । सो पार्टीले आफ्नोविरुद्ध पुकार बमलाई उम्मेदवार बनाउनुले आफू हारेको उनको विश्लेषण थियो । अहिले खरेल आफैं रविको पार्टी रास्वपामा प्रवेश गरेका छन् ।

काठमाडौं क्षेत्र–१ मा सिंहले ७ हजार १ सय ४३ मतसहित विजयी भए। राप्रपाका रविन्द्र मिश्रले ७ हजार १८, रास्वपाका पुकार बमले ४ हजार १ सय १५ पाएका थिए । प्रकाशमानभन्दा करिब ३ हजार मतले पछाडि परे खरेल ।

उता सर्वेन्द्रले पनि असफलता नै हात पारे । उनी उठेको काठमाडौं–६ मा रास्वपाका शिशिर खनाल १४ हजार २ सय २१ मतसहित विजयी भए । सर्वेन्द्रले ८ हजार ९ सय १७ मत ल्याएका थिए ।

तीन स्थानमा उपनिर्वाचन हुने भएपछि सर्वेन्द्र र रमेश दुवैलाई यो संसद प्रवेश गर्ने अर्को मौका आयो । रमेशले आफ्नो पार्टीलाई रास्वपामा गाभ्ने निर्णय गर्दै सोही पार्टीबाट बारा–२ को उम्मेदवार बने ।

हालका राष्ट्रपति रामचन्द्र पौडेलले गत निर्वाचन जितेको तनहुँ–२ मा एमालले सर्वेन्द्रलाई फेरि टिकट दियो । तनहुँ सर्वेन्द्रको गृह जिल्ला भएका कारण प्रहरीमा रहँदा उनको असल छविका कारण जित्न सक्ने एमालेको विश्वास थियो ।

तर यी दुवै पूर्वप्रहरी जर्साब लगातार दोस्रोपटक जनताबाट अस्वीकृत भएका छन् । बारामा रमेशले केवल २ हजार ८ सय २९ मत पाए भने निर्वाचित भएका जनता समाजवादी पार्टीका उपेन्द्र यादबलाई २८ हजार ४ सय १५ ल्याएका थिए । गत निर्वाचनमा नेपाल सुशासन पार्टीले एक सय ५० मत मात्र प्राप्त गरेको निर्वाचन क्षेत्रमा गएर रमेशले आफ्नो परिक्षा दिने निर्णय गरेका थिए ।

तर रवि क्रेजको असर त्यहाँ देखिएन । संसदको दोस्रो ठुलो पार्टी र गृह जिल्ला भएकाले जनताले आफुलाई पत्याउँछन् भनेर तनहुँ पुगेका सर्वेन्द्रले पनि रमेशकै नियति ब्यहोरे । चुनावी नतिजाबारे सर्वेन्द्रले सार्वजनिकरुपमा कुनै प्रतिक्रिया जनाएका छैनन् ।

रमेशले चाहीँ भनेका छन्, ‘निर्वाचनको परिणाम जस्तोसुकै आएको भएता पनि म इमान्दारीतापूर्वक नेपाल आमा र नेपाली दिदीबहिनी तथा दाजुभाईहरुको सेवामा लागि नै रहनेछु ।’

Comments

One response to “दुई पूर्वप्रहरीलाई राजनीतिमा धक्का, दुवै चुनावमा जनताले पत्याएनन्”

  1. bharat kumar Thapa Avatar

    बिज्ञताको आधारमा बिज्ञको रूपमा जुन कुनै पार्टीबाट मनोनीत हुनुपर्ने मा तलव भत्ता खाएर सुराकीको देखि अन्य खालको सेवा सुविधा लिएका मान्छे ले चुनाव लड्नु हुदैन नत्र रवी प्रबृत्ति र उनीहरूमा के फरक पर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *