देवचुली नगरपालिकाले विपन्न परिवारलाई घर बनाइदिँदै

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको देवचुली नगरपालिकाले अति विपन्न परिवारका लागि घर बनाइदिने भएको छ ।नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अति विपन्न परिवारका लागि निःशुल्क रूपमा घर निर्माण गरी हस्तान्तरण गर्ने योजना कार्यान्वयनमा ल्याएको छ ।

देवचुली नगरपालिकाभित्र रहेका १७ वडामा पहिचान गरिएका अति विपन्न परिवारका लागि निःशुल्क घर निर्माण गर्ने योजनाअनुसार काम अघि बढेको देवचुली नगरप्रमुख हरिप्रसाद न्यौपानेले बताए । चालु आर्थिक वर्षमा २५ घर निर्माण गर्ने योजनाअनुसार काम सुरु गरिएको उनले बताए । सबै वडामा कम्तीमा एक अति विपन्न परिवारलाई समेट्ने गरी परिवार छनोट गरी काम अघि बढाइएको उनले जानकारी दिए ।

‘सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत अति विपन्न परिवारका लागि घर निर्माण गर्न लागिएको हो । हामीले सबै वडामा अति विपन्न परिवार छनोट गरेका छौँ, सोहीअनुसार टिनले छाएको पक्की घर निर्माण गरी हस्तान्तरण गर्ने योजना रहेको छ’, नगरप्रमुख न्यौपानेले भने, ‘अति विपन्न परिवारलाई राज्यले हेर्छ भन्ने अनुभूति दिलाउन यो कार्यक्रमले सहयोग पुग्ने छ, त्यस्ता परिवार सुरक्षित रूपमा घरमा बस्नसमेत पाउनेछन् ।’

नगरपालिकाले दुई चरणमा २५ घर निर्माण गर्ने योजना बनाएको छ । यसअनुसार पहिलो चरणमा २० घरको काम सुरु गरिएको छ । थप पाँचको प्रक्रिया अघि बढेको नगरपालिकाका इन्जिनियर टीकाराम बस्यालले जानकारी दिनुभयो । सबै वडामा एक–एकवटा अति विपन्न परिवारका लागि घर निर्माण हुने छ । त्यस्तै वडा नं २, ४, ७, ८, ९, १२, १५ र १६ थप एक–एक वटाका दरले गरी २५ घर निर्माण हुने उनले बताए ।

देवचुलीले चालु आर्थिक वर्षमा अति विपन्न परिवारका लागि घर निर्माण गर्न रु एक करोड ५० लाख विनियोजन गरेको छ । प्रतिघर करिब रु छ लाख ७५ हजारको लागत लाग्ने जनाइएको छ । नगरपालिकाले विनियोजित बजेटबाट घर निर्माणको सबै काम पूरा गरेर अति विपन्न परिवारलाई हस्तान्तरण गर्ने इन्जिनियर बस्यालले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *