काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी तथा स्वकीय सचिव गंगा दाहालले फेसबुकमा भ्रामक पोस्ट गरेको पाइएको छ । उनले कीर्तिपुरस्थित क्रिकेट मैदानमा फ्लडलाइट जडान भएको भन्दै एडिटेड फोटो राखेकी हुन् ।
टीयू ग्राउन्डमा चारवटा फ्लडलाइट जडिएको फोटो राख्दै गंगाले लेखेकी छिन्, ‘सम्माननीय प्रधानमन्त्री प्रचण्डको निर्देशनमा कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान कार्य सम्पन्न ।’
प्रधानमन्त्री प्रचण्डले केही दिनअघि त्रिवि मैदानमा पुगेर नेपाल र यूएईबीचको खेल हेरेपछि फ्लडलाइट राख्न निर्देशन दिएका थिए । तर, उक्त निर्देशन कार्यान्वयनमा कुनै काम अघि बढेको छैन ।
नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले त्रिवि मैदानमा फ्लड लाइट जडान नभएको बताए ।
‘फोटोको विषयमा थाहा भएन, तर आजको दिनसम्म त्यो काम भएको छैन,’ उनले नेपाल प्रेससँग भने ।
क्यानले फ्लडलाइट जडान गर्नका लागि नेपाल खेलकुद परिषदमा प्रस्ताव पठाएको तर, फाइल अघि नबढेको उनले जानकारी दिए ।
यसैबीच कमेन्टमा केही व्यक्तिले यो फोटो एडिटेड हुनसक्ने बताएपछि गंगाले आफ्नो पोस्ट डिलिट गरेकी छन् ।

Leave a Reply